काठमाडौं- बजेटको मुखमा भन्सार छली गर्न भन्सार कार्यालयको मिलेमतो भएको पुष्टि भएको छ। भन्सार विभागले रसुवा भन्सारका तत्कालीन प्रमुख तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ। भन्सारमा गाडी नै ढुवानी नभई जाँचपास गरेको देखिएपछि कर्मचारीलाई निलम्बन गरिएको विभागले शुक्रबार जारी बिज्ञप्तिमा उल्लेख छ।
सेटिङको सूचना पाएलगत्तै अर्थ मन्त्रालयले छानबिन टोली गठन गरी खटाएको थियो। समितिको स्थलगत प्रतिवेदनका आधारमा कर्मचारीलाई निलम्बन गरिएको छ र गाडी आयात गर्ने पाँच कम्पनी र तीन भन्सार एजेन्टमाथि कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको छ। यसमा सिजि, साइमेक्स लगायत कम्पनीमाथि थप कारबाही गर्न लागिएको छ।