२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

प्रहरीको रणनीति योजना सार्वजनिक, प्रविधिमैत्री रुपान्तरण गरिने

मंगलवार, जेठ ५ २०८३०८:५५


काठमाडौं नेपाल प्रहरीको रणनीतिक योजना २०८३–०८५ सार्वजनिक गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मंगलबार विशेष समारोहबीच नेपाल प्रहरीको रणनीतिक योजना २०८३–०८५ सार्वजनिकीकरण गरेका छन्।  

नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी तीन वर्षका लागि तयार गरेको रणनीतिक योजना २०८३–०८५ तयार गरेको हो । रणनीतिक विषय   “नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण तय गरिएको यस रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम् प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन यस योजनाले जोड दिएको छ । यस रणनीतिक योजनाद्वारा कुल ७ वटा रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ । यस रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पुर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभुत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ । नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारबाही र विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानवस्रोत विकास, भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ ।  

साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवम् सेवाग्राहीको निवेदन, उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राहीमैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरूबीच सूचना आदानप्रदानलाई एकीकृत गर्ने, तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवम् डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट, व्यावसायिक, समयसापेक्ष एवम् आमनागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको  बताए। विगतको कार्ययोजनाको प्रमुख उपलब्धिहरू तथा कार्यान्वयन पक्षमा देखिएका मूलभूत समस्याहरूलाई विश्लेषण गरी त्यस्ता समस्याहरूलाई यथोचित सम्बोधन गर्न रणनीतिक योजना तयार गरिएको उल्लेख गर्दै यस योजनालाई मूर्तरूप दिन सम्पूर्ण प्रहरी कर्मचारीहरूको सामुहिक भावना र चाहना जरूरी रहेको उनको भनाई छ।

प्रहरी महानिरीक्षक कार्कीले परम्परागत अपराधहरू रूपान्तरण भएर संगठित स्वरूपमा गइरहेको साथै आर्थिक अपराधहरूको संख्यामा समेत वृद्धि भइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न यो रणनीतिक योजना प्रभावकारी हुने उल्लेख गर्दै यसका लागि भौतिक पूर्वाधार तथा मानवस्रोतको विकास, आधुनिक प्रविधिको प्रयोग, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायहरूको साथ र सहयोगको आवश्यकता रहेको  बताए।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आमनागरिकहरूलाई नेपाल प्रहरीको ‘मोबाइल एप’ प्रयोग गर्न आग्रह गरे ।   

प्रतिक्रिया
सम्बन्धित समाचार