२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिमा उठ्यो प्रश्न

सोमवार, चैत्र ३० २०८२१२:३८


काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरुको सम्पत्ति विवरणमा प्रश्न उठेको छ। उनीहरुसँग मनग्य सम्पत्ति रहेको देखिएपछि त्यसको स्रोतबारे प्रश्न उठेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो । कतिपयको सम्पत्ति अस्वभाविक देखिन्छ ।  
प्रधानमन्त्री शाहको आमा ध्रुवदेवीको नाममा काठमाडौं महानगरपालिका– ९ मा ५ आनामा बनेको घर छ । आमाकै नाममा धनुषामा १.२ बिघा जग्गा र घर छ । त्यस्तै, पिता रामनारायण शाहको नाममा महोत्तरीमा नौ बिघा जग्गा छ । त्यस्तै, पत्नी सविनाको पैतृक स्रोतबाट आर्जित १९० सुनलगायतका गरगहना रहेको विवरणमा उल्लेख छ । यती धेरै सुनको विषयमा प्रश्न उठेको छ।

 त्यस्तै, उनले  फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्सजस्ता सामाजिक सञ्जालबाट एक करोड ४६ लाख बैंक रुपैयाँ कमाएको उल्लेख गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि प्रशस्त सम्पत्ति रहेको छ।  सम्पत्ति विवरण फारमअनुसार कुल १२ करोड ७५ लाखबराबरका चार घर÷अपार्टमेन्ट छन् । ललितपुरको सानेपामा दुई करोडमा किनेको १,२८४ वर्गफिटको अपार्टमेन्ट तथा ललितपुरकै भैँसेपाटीमा पाँच करोडमा किनेको ४.३ आनामा बनेको घर रहेको उल्लेख छ ।

त्यस्तै, काभ्रेको धुलिखेलमा तीन करोड ७५ लाखमा किनेको नौ आना क्षेत्रफलको अपार्टमेन्ट र तनहुँको बन्दीपुरमा दुई करोडमा किनेको ३.३ आनामा बनेको घर छ । यी सबैको आम्दानीको स्रोतका रूपमा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री र बैंक ऋण तथा व्यक्तिगत सापटी देखाएका छन् । त्यस्तै, पिता जीवनराज वाग्लेको नाममा तीन ठाउँमा जग्गा रहेको विवरणमा खुलाइएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २० लाखमा खरिद गरेको तीन रोपनी जग्गा, गोरखाको सहिदलखनमा तीन रोपनी र चितवनको रत्ननगरमा ८० लाखमा किनेको पाँच कट्ठा जग्गा छ । यसको स्रोतका रूपमा पिताकै रोजगारी र बचत, पैतृक सम्पत्ति, बचत तथा अन्तर्राष्ट्रिय रोजगारी उल्लेख गरेका छन् । स्वर्णिमकै नाममा गोरखाको गोरखा नगरपालिकामा पाँच लाखमा किनेको पाँच रोपनी र तनहुँको भानु नगरपालिका– १० मा साढे आठ लाखमा किनेको ६ रोपनी जग्गा छ । यसको स्रोत अन्तर्राष्ट्रिय रोजगारी र श्रीमतीको आय भनिएको छ । त्यस्तै, पारिवारिक तथा रोजगारीबाट ४५ तोला सुन जोडेको पनि सम्पत्ति विवरणमा वाग्लेले उल्लेख गरेका छन् ।

हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक करोड ९० लाख बैंक मौज्दात रहेको पनि उल्लेख गरेका छन् । त्यस्तै, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकको प्रमोटरका रूपमा २५ हजार ७६२ कित्ता तथा नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडको ९० लाख रुपैयाँको, ठुलो खोलामा ६० लाख रुपैयाँको र अपर मादी खोला हाइड्रोमा तीन करोड रुपैयाँको सेयर रहेको खुलाएका छन् । यसको स्रोत अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री भनिएको छ । अपर मादीको सेयरका सम्बन्धमा ०८४ सम्ममा अन्य हाइड्रोको सेयर बिक्री गरी लगानी गर्ने सर्तमा प्राप्त गरेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
 
परराष्ट्रमन्त्री शिशिर  ् खनालको नाममा काठमाडौंको टोखा नगरपालिका– १९ मा ०५८ मा तीन लाखमा किनेको ६ आना क्षेत्रफलमा रहेको घर छ । त्यस्तै, जग्गातर्फ सूर्यभक्तकै तनहुँको भानु नगरपालिका– ७ मा १५ रोपनी पैतृक जग्गा, नवलपुरासी पूर्वको देवचुलीमा १३ रोपनी र नेपालगन्जमा दुई कट्ठा जग्गा खरिद गरेको सम्पत्ति विवरणमा छ । मन्त्री खनालले २२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद देखाएका छन् ।  

उनको पिक एन्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेसनल प्रालिमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर छ । त्यस्तै, बिपिडब्लू माइक्रो फाइनान्समा २,५६० कित्ता, ओम मेघाश्री फर्मास्युटिकल्स प्रालिमा पाँच हजार कित्ता, ग्लोबल आइएमई बैंकमा १०९ कित्ता, नबिल बैंकमा ५० कित्ता, एमएनबिबिएलमा ७३ कित्ता र अन्यमा १०० कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाममा काठमाडौं महानगरपालिका– २४ मा दुई आना तथा वडा नं. १३ मा चार आनामा बनेको घर छ । पैतृक सम्पत्ति र विवाहबाट प्राप्त गरेको १५ तोला सुन, ५० तोला चाँदी पनि देखाएका छन् । त्यस्तै, विभिन्न बैंकमा ८० लाख ४० हजार मौज्दात देखाएका छन् । 
विभिन्न कम्पनीमा एक करोड ४५ लाख ४८ हजार ४२० मूल्यको २० हजार ९७८ कित्ता सेयर रहेको खुलाएका उनले स्वआर्जनबाट ०६६ मा आठ लाख ५० हजारमा ल्यान्डक्रुजर टोयोटा तथा ०७६ मा स्कुटरका अतिरिक्त १९ लाख ७५ हजार मूल्यको अर्को गाडी किनेको उनको सम्पत्ति विवरणमा छ । तीन लाख मूल्यमा किनेको घडी पनि उनको सम्पत्ति विवरणमा छ ।

गृहमन्त्री सुधन गुरुङले २७ चैतमा बुझाएको सम्पत्ति विवरण फारममा ८९ तोला सुन र ६ किलो चाँदी उल्लेख गरेका छन् । यो पैतृक सम्पत्ति भएको खुलाएका छन् । घर नभएको उल्लेख गरेका उनको धनकुटाको कार्कीछाप नगरपालिकामा १९ रोपनी १५ आना जग्गा छ । त्यस्तै, पिता दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कट्ठा पैतृक तथा बाजे रामसल गुरुङ तथा बाँडफाँट नभएको जग्गा गोरखाको चुमनुब्रीमा २२१ रोपनी उल्लेख गरेका छन् ।

लक्ष्मी सनराइज, नबिल र सानिमा बैंकमा कुल ६१ लाख ६२ हजार ९५० रुपैयाँ मौज्दात छ । होप होल्डिङ्स प्रालिमा ३० लाख मूल्यको तीन हजार कित्ता, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख मूल्यको ५७ हजार कित्ता सेयर उनको सम्पत्ति विवरणमा उल्लेख छ । धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा कुल दुई करोड ७४ लाख ५६ हजार दुई सय मूल्यको सेयर र एडभेन्चर भिल्ला प्रालिमा पनि ७० लाखको ७० हजार कित्ता रहेको जनाएका छन् । सबैमा गरी चार करोड ३१ लाख ५६ हजार दुई सय मूल्यको सेयर देखिन्छ । यसको स्रोतका रूपमा उनले व्यवसाय, पैतृक सम्पत्ति र लगानी उल्लेख गरेका छन् । लगुम प्रिमियम अपार्टमेन्टका नाममा गत १६ असोजमा किनेको ४७ लाख ९९ हजार रुपैयाँ मूल्यको गाडी पनि सम्पत्ति विवरणमा राखेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने उनले कसरी यतीधेरै सम्पत्ति जोडे भन्ने प्रश्न उठेको छ। 
भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको रूपन्देहीको तिलोत्तमामा एक कट्ठा १० धुरको घर उल्लेख छ ।  नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर, बोधराज लम्सालको नाममा स्याङ्जाको बिरुवा नगरपालिकामा सात रोपनी खेत र २२ रोपनी बारी उल्लेख छ । ३० तोला सुन र ५० तोला चाँदी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा ९० लाख मौज्दात रहेको खुलाएका छन् ।

कानुनमन्त्री सोविता गौतमको काठमाडौं महानगरपालिका– ३ मा घर छ । सासूआमा कृष्णदेवीको नाममा चितवनको भरतपुरमा पैतृक घर रहेको उल्लेख गरेकी छिन् । सम्पत्ति विवरणमा जग्गाको महल खाली छ ।

गौतमसँग विवाहमा प्राप्त भएको १० र पैतृक सम्पत्तिका रूपमा अर्को पाँच तोला सुन छ । त्यस्तै, पैतृक सम्पत्तिमै नौ तोला चाँदी र विवाहमा प्राप्त भएको भनेर एक तोला हिरा पनि उनले विवरणमा भरेकी छिन् । विभिन्न बैंकमा कुल १० लाख ५० हजार बैंक मौज्दात रहेको र यो बचत तलब, लगानी तथा व्यवसायको नाफाबाट प्राप्त भएको उल्लेख गरेकी छिन् ।

पैतृक सम्पत्तिबाट ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्समा ५० प्रतिशत लगानी गरेको तथा सोपान मल्टिपल कम्पनी लिमिटेडमा प्रमोटर सेयर ६ हजार पाँच सय कित्ता रहेको उनको फाराममा छ । गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएकामा सात लाख तिरेको र गाडी खरिदकै लागि एभरेस्ट बैंकबाट लिएको २५ लाख तिरिनसकेको उनको सम्पत्ति विवरण फारममा उल्लेख छ ।


महिला, बालबालिकामन्त्री सीता बादीको काठमाडौंको बुढानीलकण्ठमा पक्की घरसहित जग्गा छ । आफ्नै नाममा सुर्खेतमा ८९.६५ वर्गमिटर र पति सुरेश पुर्कुटीको नाममा नुवाकोटमा ६३९०.६५ वर्गमिटर जग्गा रहेको खुलाएकी छिन् । ५० हजार नगद, १८ तोला सुन र १५ तोला चाँदी रहेको पनि उनले सम्पत्ति विवरण खुलाएकी छिन् । सुन र चाँदी विवाहमा आएको उनको विवरणमा छ । यसैगरी एनआइसी र प्रभु बैंकमा पति र आफ्नो गरी १५ लाख रुपैयाँ रहेको जनाएकी छिन् । 
बादीदम्पतीको नाममा कुल पाँच हजार ६ सय कित्ता सेयर छ । तीन लाख ३० हजारमा किनेको आफ्नो स्कुटर र पतिको दुई लाख ६० हजार मूल्यको पल्सर मोटरसाइकल देखाएकी छिन् । घरमा पालेको २० वटा कुखुरा र एउटा कुकुर पनि उनले सम्पत्ति विवरणमा राखेकी छिन् । उनीसँग तीन ल्यापटप र दुई मोबाइल पनि छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको काठमाडौंको बुढानीलकण्ठ चपलीमा पतिको आम्दानीबाट किनेको पाँच आना जग्गा र बाराको कोलाबीमा आफ्नो नाममा पाँच लाखमा किनेको १७ धुर जग्गा छ । स्वआर्जन र परिवारको उपहारबाट प्राप्त गरेको २५ तोला सुनका गरगहना रहेको पनि विवरणमा खुलाएकी छिन् । पतिको आम्दानीबाट प्राप्त गरेको २४ लाख ७८ हजार ७६० रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । स्वआर्जनबाट विभिन्न कम्पनीमा भरेको एक लाख मूल्यको साधारण सेयर रहेको पनि खुलाएकी छिन् । पतिको आम्दानीबाट किनेको ४४ लाखको गाडी पनि उनीसँग छ । एभरेस्ट बैंकबाट गत जेठमा २० लाखको ऋण लिएको उनको विवरणमा छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले बुझाएको विवरणअनुसार आफ्नो र श्रीमान्को तलब, ऋण आदिबाट ५२ लाख रुपैयाँमा काठमाडौंको सौखेलमा खरिद गरेको सात आना जग्गा रहेको उल्लेख गरेकी छिन् । ३० तोला सुन, ५० तोला चाँदी र हिराको औँठी पनि देखाएकी छिन् । यसको स्रोत दाइजो, उपहार र खरिद गरेको जनाइएको छ । तलबबाट प्राप्त भएको १७ लाख २३ हजार ५३५ रुपैयाँ विभिन्न बैंकमा मौज्दात रहेको, विभिन्न कम्पनीमा ८८ हजार ३३७ रुपैयाँको २४० कित्ता सेयर रहेको उल्लेख गरेकी छिन् । दम्पतीकै कमाइबाट यसै वर्ष खरिद गरेको २५ लाख मूल्यको गाडी पनि उनले सम्पत्ति विवरणमा खुलाएकी छिन् । त्यस्तै, सासू र ससुराको नाममा घर छ । तर, कहाँ छ भन्ने खुलाएकी छैनन् । उनीहरूकै नाममा महोत्तरीको बल्वामा सात बिघा जग्गा पनि छ ।

शिक्षामन्त्री सस्मित पोखरेल सर्वाधिक धनी मन्त्री देखिएका छ । मन्त्री पोखरेलको परिवारसमेतको नाममा कुल २४ करोड १६ लाख २७ हजारको सम्पत्ति छ । ७५ लाख ऋण देखाएका छन् । आमा मीनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंमा तीन आनामा बनेको चार करोडको र अर्को ६ आनामा बनेको पाँच करोडको घर छ । यो घर बुबाको नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदाको पारिश्रमिक सुविधा र पैतृक सम्पत्ति बिक्रीको आयबाट किनेको उनले उल्लेख गरेका छन् ।

२३ चैतमा बुझाएको सम्पत्ति विवरण फारमअनुसार उनको परिवारको नाममा काठमाडौं, ललितपुर र मोरङमा पाँच ठाउँमा जग्गा देखिन्छ । पिता रमेशकुमारको काठमाडौं महानगर– ४ मा रहेको ४.२ आना जग्गाको मूल्य साढे दुई करोड, मोरङको विराटनगरमा एक कट्ठाको मूल्य एक करोड तथा आमा मीनाक्षीका नाममा ललितपुरको गोदावरी नगरपालिकामा डेढ करोड मूल्यको एक रोपनी १४ आना, काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा त्यति नै मूल्यको १३५ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन् । आमा मीनाक्षीसहितको मावली परिवारका सदस्यसमेतको संयुक्त नाममा गोदावरीमै पाँच करोड मूल्यको ११ रोपनी चार आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा खुलाइएको छ ।

अनुमानित २५ तोला सुन र १०० तोला चाँदीको अनुमानित मूल्य उनले ७५ लाख रुपैयाँ राखेका छन् । २५ हजार उनको नगद छ । सानिमा र एनआइसी बैंकमा उनको चार लाख ४७ हजार ४९४ रुपैयाँ र पाँच डलर मौज्दात छ । त्यस्तै, पिता रमेशकुमारलगायत परिवारका सबै सदस्यको नाममा विभिन्न कम्पनीका ३० लाख मूल्यको सेयर, बुबाको नाममा एउटा ५० लाख ४० हजार र अर्को ४६ लाख ५० हजारबराबरको राष्ट्रिय बचतपत्र, आमा मीनाक्षीको नाममा पनि ५० लाखको राष्ट्रिय बचतपत्र रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । मन्त्री पोखरेलले हिमालयन बैंकबाट २५ लाखको हायर पर्चेज कर्जा र आमा मीनाक्षीले ५० लाखको ओडी कर्जा लिएका छन् । पोखरेलसँग यही वर्ष गत जेठमा ३९ लाख ६५ हजारमा किनेको गाडी र पिता रमेशकुमारसँग ७० लाखको गाडी छ ।

पर्यटनमन्त्री खडकराज पौडेलको भाउजू सन्तोषी शर्माको नाममा पोखरामा १७४.८५ वर्गमिटर क्षेत्रफलमा बनेको दुई करोड ६० लाख मूल्यको घर छ । आमा खिमकुमारी पौडेलको नाममा पोखरामै तीन ठाउँमा क्रमशः ३८९१.०७, १३११.६० र १३८ वर्गमिटर जग्गा छ । पैतृक स्रोतका यी जग्गा एकाघरको रहेका उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
पुस्तान्तरण हुँदै आएको ११ तोला सुन र पाँच तोला चाँदी पनि उनको सम्पत्ति विवरणमा छ । एनएमबी र माछापुच्छ«े बैंक तथा मझेरी सहकारीमा गरी उनी र परिवारका सदस्यको २२ लाख ७३ हजार रुपैयाँ मौज्दात छ । मझेरी सहकारीसहित तीन कम्पनीमा उनको १८ हजार १५२ कित्ता सेयर छ । घरका लागि माछापुच्छ«े बैंकबाट एक करोड ३० लाख रुपैयाँ र मझेरी बचत तथा ऋण सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।

दाइ पशुपतिको नाममा ३५ लाखको गाडी छ । तर, उनको नाममा दुई–दुई लाखका दुईवटा स्कुटर पनि छन् । बुक लिफ्टर प्रालिमा आफ्नो २५ लाख र पारिवारिक सदस्यको नाममा मझेरी मञ्जिल (फार्म हाउस) मा दुई करोड तथा बर्थडे जोन स्टोर्स प्रालिमा नाताशा पराजुलीको १५ लाख लगानी रहेको उनले उल्लेख गरेका छन्।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको काठमाडौंको नागार्जुनमा १४२.७० वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् । वैदेशिक रोजगारीमा रहेकी पत्नीको आम्दानीबाट काठमाडौंमा उनकै नाममा १७४.८५ वर्गमिटर जग्गा छ । २४ चैतमा उनले बुझाएको सम्पत्ति विवरणमा एउटा मंगलसूत्र, डेढ तोलाका दुई औँठी, आधा तोलाको तिलहरी, दुई बाला, एक मोतीमाला र १० तोला चाँदी देखिन्छ ।

बैंक खातामा मन्त्री तिमिल्सिनाको १० लाख २४ हजार ३६५ र पत्नी गैरैको १० हजार रुपैयाँ छ । बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख ऋण दिएको उल्लेख गरेका उनले सन् २०२२ मा २३ लाखमा गाडी किनेको देखाएका छन्।

कृषिमन्त्री गीता चौधरीले पेस गरेको सम्पत्ति विवरणअनुसार बर्दियाको राजापुरमा ३० लाख मूल्यमा किनेको जग्गा छ । यो श्रीमान्को स्वआम्दानी रहेको सम्पत्ति विवरणमा उनले लेखेकी छिन् । सुनील चौधरीको नाममा रूपन्देहीको सैनामैनामा १,१५० वर्गमिटर पैतृक जग्गा छ भने पैतृक र स्वआर्जनबाट किनेको पाँच तोला सुन र १०० तोला चाँदी छ । 
मन्त्री चौधरीको विभिन्न पाँच बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात छ । त्यस्तै, दुई लाख ५० हजारको सेयर छ । तीन लाख ३० हजारमा स्कुटर किन्दा लिएको ऋणमध्ये एक लाख ५० हजारमध्ये ८४ हजार तिरेको खुलाएकी छिन् । माइतीले उपहार दिएको दुई बाख्रा र १० कुखुरा पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । ६५ हजार रुपैयाँको एउटा ल्यापटप, ९० हजारको मोबाइल र ५० हजारको घडी रहेको पनि उल्लेख गरेकी छिन् ।

उद्योगमन्त्री गौरीकुमारी यादव सुनमा धनी देखिएकी छिन्। उनको एक सय ८० तोला सुन छ। 
उद्योगमन्त्री यादवको नाममा काठमाडौं महानगरपालिका– ९ मा एक रोपनी एक आनामा बनेको तीन तलाको घर छ । उनकै नाममा काठमाडौं महानगरपालिका– १० का तीन ठाउँमा क्रमशः १४ आना, सात आना र नौ आनाका जग्गा छन् । त्यस्तै, महोत्तरीको बर्दीबास नगरपालिकामा तीन ठाउँमा १४ कट्ठा, १५ कट्ठा र साढे पाँच बिघाका अतिरिक्त सम्सी गाउँपालिकामा एक बिघा र मनरासिसवामा अर्को एक कट्ठा जग्गा र एउटा पोखरी छ ।
 त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख मौज्दात रहेको खुलाएकी छिन् । मन्त्री गौरी र शिवजी यादवका नाममा विभिन्न कम्पनीमा तीन करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँबराबरको सेयर छ । शिवजीले एक करोड ६० लाख ऋण लिएको तथा कार्तिका यादवको एक लाख ८७ हजार अटो ऋण छ । कार्तिका यादवको ५७ लाख रुपैयाँ खरिद मूल्यको गाडी छ । ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा प्रदान गरेकामा मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको सम्पत्ति विवरणमा छ ।

श्रममन्त्री रामजी यादव पनि धनी देखिएका छन्। उनले आइतबार बुझाएको सम्पत्ति विवरणअनुसार सप्तरीको राजविराजमा ११.१३ आनामा बनेको पैतृक घर उनको नाममा छ । त्यहीँ उनकै नाममा तीन ठाउँमा जग्गा छ । काजलकुमार यादवसमेतको राजविराजमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 
८० तोला सुन र १५० तोला चाँदी रहेको उनले खुलाएका छन् । त्यसमध्ये ५० तोला सुन र चाँदी पैतृक रहेको तथा ३० तोला सुन आफूले किनेको उनको सम्पत्ति विवरणमा छ । एनआइसी एसिया र सानिमा बैंकमा ७० लाख मौज्दात रहेको खुलाएका छन् । ०७३ मा किनेको दुई लाख ७० हजार मूल्यको मोटरसाइकल, दुई लाख ५० हजारको म्याकबुक, दुई लाख २६ हजार ९०० को आइफोन र ५० हजारको मोबाइल पनि देखाएका छन् ।  
मन्त्रिपरिषद्का सबै मन्त्रीहरु करोडपति देखिएपछि उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने माग उठेको छ । यद्यपी सबै मन्त्रीहरुले स्रोत खुलाएर सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार