काठमाडौं । हाजिरी जमानीमा छुटेपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध अनुसन्धान जारी रहने भएको छ। सर्वाेच्च अदालतको आदेशमा उनीहरू बिहीबार हाजिरी जमानीमा छुटेका हुन्।
अनुसन्धानमा सहयोग गर्ने शर्तमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए। खोजेको बेला उपस्थित हुने गरी उनीहरलाई आफन्तको जिम्मा लगाई छाडिएको हो।
सर्वाेच्च अदालतले बुधबारभित्र मुद्दा दायर गर्न नसकिए रिहा गर्न भनेको थियो। अनुसन्धान नसकिएपछि प्रहरीले मुद्दा दायरको प्रक्रिया अघि बढाएन । यद्यपी दुवैको बयान भने सम्पन्न भइसकेको छ।
थप प्रमाण जुटाउने र साक्षीको कागज गर्ने लगायतका काम हुने प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध लापरबाही गरेर ज्यान लिएको कसुरमा अनुसन्धान भइरहेको छ। जसमा १० वर्षसम्म कैद सजाय हुनसक्छ।