काठमाडौं- घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्सपेक्टर ओकिल अधिकारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले ४० हजार रुपैयाँ घुस रकमसहित उनलाई पक्राउ गरेको हो।
आयोगका सूचनाअधिकारी प्रकाश पोखरेलले दिएको जानकारी अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण ठेकेदारसँग विभिन्न बहानामा रकम असुल्ने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो।
निर्माण भइरहेको सडक खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई यो मिलेन र त्यो मिलेन भन्दै उनले काममा अनावश्यक अवरोध सिर्जना गर्ने र रकम माग्दै आएका थिए।
अधिकारी विगतमा केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए।
प्रधानमन्त्री कार्यालयले बुधबार परिपत्र गर्दै कुनै कर्मचारी घुसमा परेमा कार्यालय प्रमुख जिम्मेवार हुने जनाएको छ। जसआधारमा एसपीमाथि समेत छानबिन हुने भएको छ।