काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छिन्। रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी उनले उक्त भ्रमणका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सेनाले गरेको सुरक्षा तयारीबारे जानकारी लिएकी छिन्।
यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा नेपाली सेनाले सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो।
प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताइन्। सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले विभिन्न निर्देशन दिइन् । ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नुहुँदैन, एकजना पनि घाइते हुनुहुँदैन,’ उनले भनिन् । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न पनि उनले सेनालाई सम्झाइन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारी उपस्थित थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सेना परिचालनका लागि स्वीकृती दिइसकेका छन्। सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचनको तीन महिनाअघि नै सेना परिचालन गर्न लागिएको हो।