काठमाडौंः अनुमति नलिई विदेशी दूतावासका अधिकारी र नेता भेट्ने सशस्त्र प्रहरी अधिकारीमाथि छानविन सुरु भएको छ । उनीहरुमाथि अनुशासनको कारबाहीको तयारी छ ।
अनुशासनलाई बलियो बनाउन सशस्त्र प्रहरी बलले बाहिरी भेटघाटमा कडाई गर्दै छानविन थालेको हो । भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृती लिन भन्दै बिहिबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुमा परिपत्र गरेको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरु, राजनैतिक दलहरुका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरुमा भेटघाट गर्न कडाई गरिएको छ । ‘सशस्त्र प्रहरी कर्मचारीहरुले कुुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश २०७९’ स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न परिपत्र गरिएको हो ।
जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न उच्च पदस्त व्यक्तित्वहरु, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरुलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरुमा प्रतिकुल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरु तथा संगठनका गोप्य सूचनाहरु अनाधिकृत रुपमा प्रकाशन गरेको पाईएमा कडा कारवाही गरिने परिपत्रमा उल्लेख छ ।
‘राज्यप्रदत्त जिम्मेवारीहरु मध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारी समेत भएको संगठनमा कार्यरत कर्मचारीले अनाधिकृत रुपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने हुँदा यस्ता गतिविधिहरुलाई पूर्ण रुपमा निरुत्साहित गर्न जुनसुकै उच दर्जाको भएता पनि सशस्त्र प्रहरी ऐन एवम् सशस्त्र प्रहरीको नियमावलीको नियम आकर्षित गरी कडा भन्दा कडा कारबाही अगाढी बढाइने व्यहोरा जानकारी गराइन्छ,’ परिपत्रिमा भनिएको छ । सशस्त्र प्रहरीका केही उच्च अधिकारीले व्यक्तिगत स्वार्थका लागि केही अनाधिकृत भेटघाट गरेको थाहा भएपछि यस्तो परिपत्र भएको एक अधिकारी बताउँछन् ।
फौजी संगठनमा अनुशासीत, मर्यादित र आदेशको पालना हुनैपर्ने, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने भएकाले यसरी कडाई गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।‘राष्ट्र सेवाको लागि माईनस २० डिग्री
सेल्सियस न्यूनतम तापक्रमदेखि ४४ डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४ सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक पहरेदार कर्मचारीहरुको समेत मनोवल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दवाव र भनसुनले राम्रो अवसर दिन नसकिने परिपत्रमा उल्लेख छ ।
आर्थिक तथा भौतिक रुपमा चाहिने जति सेवा सुविधा तुलनात्मक रुपमा नभएता पनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शुन्य सहनशिलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद्मा परेकाहरुको उद्धार तथा सहयोग लगायतका कार्यहरुमा उच्च मनोवल र पेशागत बफादारिताकासाथ लाग्न समत निर्देशन दिइएको छ ।