धनगढी: जिल्ला कारागार कैलालीमा कैदीबन्दीबिच फेरि झडप भएको छ। झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पछिल्लो दुई महिनायता कैलाली कारागारमा बारम्बार झगडा हुँदै आएको छ। जेलभित्र हुने भ्रष्टाचार लगायतका कारण यस्तो अवस्था आएको हो ।
शुक्रबार राति भएको झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। कुटपिटबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदी हुन्।
घाइते ४७ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। झडपछि कारागारको अवस्था सुरक्षा निकायको नियन्त्रणबाहिर छ । कैदीबन्दीले नै जेल कब्जा गरेपछि सुरक्षाकर्मी भित्र छिर्न सकेका छैनन् । गृहमन्त्री रमेश लेखकले यस विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसहितको बैठक बोलाएका छन्।
दुई महिनाअघि पनि कैलाली भएको झडपामा एक कैदीको मृत्यु भएको थियो। जसमा प्रहरीका सइविरुद्ध नै मुद्दा चलेको छ।
जेलभित्र हुने अनेक चलखेलका कारण पछिल्लो समय कैलाली कारागार रणमैदान बन्दै आएको छ।