काठमाडौं / बिचौलिया इनम सापकोटासँग शंकास्पद सम्बन्ध रहेका व्यक्तिहरुकाथिको अनुसन्धानलाई प्रहरीले तिव्र बनाएको छ । त्यसैक्रममा प्रहरीले कांग्रेस नेता उमेश श्रेष्ठका भाई महेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
श्रेष्ठले इनमको खातामा बारम्बार पैसा जम्मा गरेका थिए। उक्त कारोबारको कुनै स्रोत नखुलेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ । इनम र उमेशबीच पनि निकटस्थ सम्बन्ध देखिएका छ । जसमा उमेशमाथि समेत छानबिन हुने सम्भावना छ। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष हुन्।
यही प्रकरणमा यसअघि लगानी बोर्डका पूर्वसिइओ सुशील भट्टलाई प्रहरीले पक्राउ गरिसकेको छ । इनम प्रकरणमा सरकारले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाललाई सेवाबाट हटाइसकेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनका भाई प्रभुमाथि समेत अनुसन्धान भइरहेको छ । त्यस्तै, उनको न्यायाधीश हरिप्रसाद फुयाल लगायत न्ययाधीशसँग निकटतम सम्बन्ध देखिएपछि उनी पनि छानबिनमा तानिएका छन्।
इनममाथि हाल सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ। जसमा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्छ। इनम पक्राउ परेको ५० दिन भएको छ। यसमा धेरै उच्चपदस्थहरु तानिने प्रहरी अधिकारी बताउँछन्।