२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको दमदार सम्बोधन

शुक्रवार, आश्विन ९ २०८३१२:३०


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्दै विश्वशान्तिदेखि विपतसम्मका विषय उठाएका छन्। नेपाली समयअनुसार शुक्रबार बिहान उनले सम्बोधन गर्दै नेपालका सवालहरु पनि विश्वसामु राखेका छन्।

 जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, बाली नष्ट हुने र पूर्वसूचनाविनै बाढी आउने गरेको उनले बताए। विश्वव्यापी आपूर्ति शृंखलाका कारण गरिब मुलुकका नागरिकले आफूहरूको नियन्त्रणभन्दा बाहिरका घटनाको मूल्य चुकाउनुपरेको उनको भनाइ थियो।

‘हामीले युद्धका लागि निर्दोष र सटिक आपूर्ति प्रणाली भएको, तर खानाका लागि कमजोर आपूर्ति प्रणाली भएको संसार बनाएका छौँ,’ शाहले भने।

राष्ट्रयुद्धका सामग्री सहज रूपमा विश्वका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने भए पनि किसानका लागि आवश्यक मल र इन्धन समयमै उपलब्ध हुन नसकेको भन्दै विश्वव्यापी आपूर्ति प्रणालीमाथि प्रश्न उठाएका छन्।

 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलीहरू सीमापार गर्दै हरेक अवरोध र समयसीमा पार गर्ने गरेको, तर नेपालका किसानले आवश्यक समयमा बजारमूल्यमा मल वा इन्धनसमेत प्राप्त गर्न नसकेको बताए।

‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्। राइफल र गोलीहरू सीमापार गर्छन्, हरेक अवरोध पार गर्छन् र हरेक समयसीमा पूरा गर्छन्। तर, नेपालका किसानले आवश्यक समयमा बजारमूल्यमा मल वा इन्धन प्राप्त गर्न सक्दैनन्,’ उनले भने।

उनले यसै मार्चमा नेपालको इतिहासकै सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचनबाट नयाँ बहुमतको सरकार निर्वाचित भए पनि त्यसयता नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतिकूलताको सामना गर्नुपरेको बताए।

शाहले किसानले मनसुनमा खेतमा बिउ छर्न जाँदा समयमै मल नपाउने, नयाँ राजमार्ग निर्माणका लागि आवश्यक बिटुमिनको अभाव हुने तथा परिवारले साँझ खाना पकाउने इन्धनको समस्या भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे।


उनले विपतको समस्या नेपालमा मात्र नभएको भन्दै बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायतका मुलुक पनि जलवायु परिवर्तन र आफूहरूले सुरु नगरेका युद्धको प्रभावमा परेको बताए। 
शाहले अहिलेको विश्वव्यापी सहकार्यको व्यवस्थामा देखिएभन्दा धेरै कुरा बिग्रिएको भन्दै अन्तर्राष्ट्रिय प्रणालीले गरिब तथा कमजोर मुलुकका नागरिकका आधारभूत आवश्यकतालाई समेत प्राथमिकतामा राख्नुपर्ने औंल्याएका छन्। प्रधानमन्त्रीको प्रस्तुती सशक्त हुन नसकेपनि विषयहरु भने दमदार भएको भनेर प्रशंसा भइरहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार