काठमाडौं । नेपाल प्रहरीमा नियमित सरुवा बढुवा प्रभावित भएको छ। गृहमन्त्री नभएको र प्रधानमन्त्रीसँग समन्वय हुन नसक्दा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवा बढुवा निकाल्न सकेका छैनन्।
नेपाल प्रहरीमा इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको तयारी भइरहेको छ। एक वर्ष कार्यकाल पुगेका धेरै जिल्लाका इन्चार्जहरूको नियमित सरुवा हुन सकेको छैन ।
एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई छ। तर, आइजिपी कार्कीले प्रधानमन्त्रीको समेत राय लिएर मात्र सरुवा निकाल्न खोजेका छन्। जसकारण सरुवामा बिलम्ब भएको स्रोत बताउँछ।
काठमाडौं परिसरका एसएसपी पनि सरुवाको सूचीमा छन्। एसएसपी रमेश थापाको अवधि करिब नौ महिना भइसकेको छ।
परिसरमा जानका लागि अजय केसी, दयानिधि ज्ञवाली, प्रवीण धिताल, दिलिप घिमिरेलगायतबिच प्रतिस्पर्धा छ। तराईका केही जिल्लाका एसपीहरुको पनि सरुवाको तयारी भइरहेको छ।
त्यस्तै, एसएसपीसहितका पदहरू रिक्त रहेकोमा बढुवाको गृहकार्य पनि अघि बढ्न सकेको छैन।