कञ्चनपुर- बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई ज्यान मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
उनीबिरुद्ध किसान हरिकृष्ण राना हत्याकाण्डको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले जानकारी दिए। । रानाकी श्रीमती फिरिया रानाले नाथ बिरुद्ध ज्यान कसुरमा मुद्दा दिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
‘हामीले उहाँलाई पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएका छौँ, अहिले प्रहरीकै हिरासतमा हुनुहुन्छ’, प्रवक्ता शाहीले भने, ‘जाहेरीअनुसार ज्यान कसुरमा मुद्दा परेकाले अनुसन्धान अघि बढाएका छौँ ।’ नाथ नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष भएकी थिइन्।
गत बर्ष ९ बैशाख ०८२ मा बेलडाँडी गाउँपालिका– ३ खैरिघाटका स्थानीय समेत रहेका ५० वर्षीय किसान हरिकिसन राना बेलौरी नगरपालिका–१० शिवनगर नाला किनारमा जलेको अवस्थामा फेला परेका थिए । कृषि अनुदानको विषयमा उपाध्यक्ष नाथ र किसान रानाबिच वादविवाद र आरोप प्रत्यारोप पनि चलेको थियो ।
घर परिवारले नाथ बिरुद्ध एक बर्षपछि मात्रै आएर किटानी जाहेरी दिएको विषयमा नाथ निकट व्यक्तिहरुले फसाउन खोजेको आरोप लगाएका छन् । प्रहरीले भने निष्पक्ष अनुसन्धान गरिने जनाएको छ।