श्याम बहादुर खड्का, अस्तितिर सबैको ध्यान बारा जिल्लाको गढिमाईको थानमा लागि रहेको मेलातिर थियो। स्वाभाविक रुपमा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो।
लामो अवधिमा लाग्ने मेला र सुगम ठाउँमा लाग्ने मेलाका कारण मानिसको आवतजावत पनि उल्लेख्य मात्रामा भइरहेको हुनसक्छ।
तर, मैले यहाँ चर्चा गर्न लागेको बझाङको वित्थडचिर गाउँ पालिकाको मडगाउँमा पर्ने देवीको मेलाको हो। यो स्थान साविकको देउलेख गा.वि.स अन्तर्गत पर्दछ र बझाङ जिल्लाको सदरमुकाम चैनपुर देखि करिब ६४ किलोमिटर पश्चिमतिर रहेको छ।
जयपृथ्वी राजमार्गको देउलेख—सुनकुडा खण्डको उत्तरतिर देउलेख बजार नजिक होचो उपत्यकामा रहेको मड भन्ने ठाउँमा चिरासैनी भगवती पनि भनिने मडकी देवीको मन्दिर अवस्थित छ। यी देवीको नामबाट नै यस स्थानको नाम चिर रहेको र पहिले यस पुरै क्षेत्रलाइ बझाङ जिल्लाको चिर प्रशासनिक दरा अन्तर्गत राखिएको थियो।
हाल यहीँ नामबाट वित्थड गाउँपालिका नाम कायम गरिएको छ। यो स्थान राजमार्गबाट केही दूरीमा रहेकोले हाल धेरै मानिसको ध्यान तान्न सकेको छैन।
यस भेगकै प्रमुख साँस्कृतिक सम्पदाहरू मध्ये चिरासैनी भगवतीको मन्दिर, धार्मिक धरोहरको रुपमा रहेको स्थल हो। यी देवीलाई चिरासैनी भगवती भन्ने गरिए पनि सामान्य भाषामा यिनलाई मडकी देवी भन्ने गरिन्छ। मडगाउँमा अवस्थित भएकीले यिनलाई मडकी देवी भनिएको हो।
गैरदलित र दलित मिलेर पूजा गरिने यहाँको उदाहरण अन्य भेगको लागि अनुकरणीय हुन सक्छ। यस मन्दिरमा परापूर्व काल देखि नै दलित समुदायबाट समेत पुजारी तोकिएका छन।
यसतर्फका मानिसहरूमा देवी देवताको पूजा गर्नाले बालीनालीको लागि क्षति पु¥याउन सक्ने असिना, आधिबेहेरी, अनाबृष्टी, अतिबृष्टी जस्ता प्राकृतिक प्रकोपले दुख नदिने मान्यता छ।
यसका साथै मानिसको सम्पत्ति र पशुधनको रक्षा समेत गर्ने मान्यता कायम छ। यसबाहेक मानिसलाई लाग्ने रोग व्याधीले आक्रमण नगर्ने विश्वास रही आएको छ। यसका साथै कुनै पनि ब्यक्तिको पारीवारिक सदस्यको सुरक्षा, ब्यक्तिगत सम्पत्तिको रक्षाका साथै आफ्नो मनले सोचेको मनोभावना पुर्ण हुने विश्वास गरिन्छ।
सोही मान्यता अनुसार यस क्षेत्रका सम्पुर्ण आलीपाली मानिसहरूलाई यी देवीले विभिन्न सम्भावित खतराबाट जोगाउने विश्वास रही आएको छ। हाल यी चिरासैनी देवीको मन्दिरमा पूजा सहितको मेला चलि रहेको छ। मंसीरको शुक्ल पक्षको दशमी तिथि देखि नौ दिनसम्म हाल चलि रहेको मेलालाई नवरात्रको मेला भन्ने गरिन्छ।
हुन त चिरासैनी देवीको यस मन्दिरमा वर्षभरि अन्य दिन खासगरी बैशाख १ गतेको बिषु पर्वमा, असोज र चैतको नवरात्रमा समेत नियमित पूजा हुने गरेको छ। यसका साथै अन्य दिनमा समेत पूजा चलिरहेको हुन्छ, तर देवीको यस पवित्र स्थानमा लाग्ने यस अवधिको मेलालाई बिशेष र महत्वपूर्ण मान्ने गरिन्छ। यहाँका मानिसहरू यसलाई ठुलो पर्वको रुपमा मान्ने गर्छन्।
यो पर्व हरेक वर्ष मंसीर महिनाको शुक्ल पक्षको दशमी देखि शुरु भएर पूर्णिमा तेस्रो दिन नौ दिनसम्म चल्छ। मन्दिरमा रहेकी देवीका साथ अन्य देवताको समेत पूजा भव्य रुपमा हुने गरेको छ। सम्भवतः यो सुदूरपश्चिममा सबैभन्दा लामो अवधिसम्म यसबेला लाग्ने मेला मानिन्छ।
यहाँ मेला भर्न सुदुर–पश्चिमको दार्चुला बैतडी, डडेल्धुरा र बझाङका बिभिन्न स्थानका साथै भारतको पिथौरागढ लगायत विभिन्न स्थानबाट दर्शन, जात्रा अवलोकनका लागि ठुलो संख्यामा भक्तजनहरुको उपस्थिति रहने गरेको छ।
यसका साथै हाल यातायातको साधनको उपलब्धताका कारण काठमाडौँ तथा देशका अन्य विभिन्न स्थान समेतबाट श्रद्धालु जम्मा हुने गरेका छन्। यी देवीको यस स्थानमा उत्पत्ति भएको सम्बन्धमा स्थानीय स्तरमा एक कथा प्रचलनमा रहेको छ।
आज भन्दा करिब १३÷१४ सय बर्ष अगाडि यी देवीको स्थान रहेको मड भन्ने गाउँमा बसोबास गरिरहेका शालिभान खड्का र नरपते लहार खेतिपाति गर्ने क्रममा खेत जोति रहेका थिए। खेत जोत्दै गरेको बेला शालिभान खड्कालाई पानी प्यास लागेछ। उनी पानी खान जान्छु भनेर हलो नरपते लुहारलाई जिम्मा दिएर पानी खान गए। नरपते लुहार मात्र खेत जोत्दै गरेको बेला जमिन मुनिबाट आवाज आएछ।
“यताबाट हलो नजोत, यहाँ म बसि रहेकी छु म माथि हलो लगेर नजोत र मलाई नकुल्च” भन्ने आवाज आएछ। त्यो आवाज सुन्दा सुन्दै पनि नरपते लुहारले त्यसै ठाउँमा हलो जोतेर लग्यो। यसरी हलोको फाली लाग्दा चिच्याएको आवाजसंगै रगतको धारा बग्न गयो।
पछि हलो जोत्न रोकेर दुवै जना भई त्यहाँ खनेर हेर्दा भवानीको पवित्र शिला भेटियो। अझ सुनिनमा आए अनुसार नरपते लुहारले दौडेर घर गई तामाको ताउली ल्याएर त्यसलाई छोपेपछि रगत आउन बन्द भएको भनाई पनि पाइन्छ।
पछि आसपासका गाउँले जम्मा भई त्यसै ठाउँमा मन्दिर बनाई पुजा गर्न शुरु गरियो। यस स्थानमा देवीको अनिच्छाका कारण मन्दिर पनि धेरै अवधिसम्म बनाउन नसकिएको र बनाउने काम सफल नभएको भनिन्छ। पछि नाग आएर चारकिल्ला तोकी दिएपछि मात्र मन्दिर बनेको भन्ने भनाई पाइन्छ।
यस पर्वमा हुने राँगाको बलिको लागि नेपालको राजदरबारबाट व्यवस्था हुने गरिएको थियो। पछि यो जिम्मेवारी चिर गर्खाका मल्ल ठकुरीहरूले नेपालबाट जिम्माली पाएपछि त्यो पुजा संचालनको जिम्मा लिएका थिए। हालपनि ती मल्लहरूको उपस्थिति र जात्रामा एक राँगो, बलिको लागि चढाउने चलन अद्यापी छँदैछ।
यस मन्दिरमा देवीको सेवाको लागि चिर भरिका मान्छे जम्मा हुन्छन्। यस गाउँ पालिकासंग जोडिएको बैतडी तथा दार्चुलाका गाउँहरूमा समेत यी देवीका करिया अथवा पाली मानिसहरूको उल्लेख्य उपस्थिति रहेको हुन्छ। दशमी देखि हुने नित्य पूजा कार्यक्रममा बाजागाजा सहित जय जयकारको ध्वनीमा मानिसहरू मेला भर्न आउछन्।
दशमीको दिन यस मन्दिरमा रहेका कैरेला देवता पूजा हुन्छ। त्यसपछि द्वादशीको देखि त्रयोदशीको दिनसम्म देवीको नवरात्रा पूजाका कार्यक्रमहरू चल्छन्। त्रयोदशीको दिन यस मन्दिरमा रहेको प्रचलन अनुसार मध्यरातको दुइ तीन बजेबाट विशेष पूजा शुरु गरिन्छ।
उज्यालो हुनु भन्दा अघाडिनै चिरासैनी देवीलाई परम्परागत रुपमा हविको भोग दिने गरिन्छ। त्यसदिन त्यहाँ उपस्थित सबैलाई तिलक प्रसाद दिई रात्रीको काम सम्पन्न गरिन्छ।
चतुर्दशीको रात्रीमा भजन किर्तन आरतीका साथै मन्दिर बाहिरको क्षेत्रमा देउडा गीत, नाचगान, भेटघाट एवं भलासुकारी लगायत मनोरन्जनात्मक कार्यहरु पनि गरिन्छ।
मंसिर शुक्ल चतुर्दशीको दिन रात्री ठुलो भारी जात्रा हुन्छ। यो क्षण इष्टमित्र, दिदी बहिनीसंगको भेटको रमाइलो अवसर पनि हो। पुर्णिमाको तेस्रो दिन अथवा कृष्ण द्वितियाको दिन बोकाको बलिको कार्य सम्पन्न भएपछि पुजा समाप्त हुन्छ। (लेखक नेपाल प्रहरीका पूर्व डीआईजी अर्थात् मष्टो संस्कृती तथा परम्पराका लेखक हुन्।)
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com