२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

रित्तो जिन्दगी [कविता]

सोमवार, बैशाख २५ २०८०१०:५२

-कविता जोशी

हराएको यात्रीजस्तै भाको छ जिन्दगी
खिलहरुले मेरा पाईताला बनेका छन्
ढुंगा माटोले बुझ्छन्
मेरो कहानी
खोइ त हजुर ?
आशुले भिँजेका
यी आँखाको भाषा बुझेको ?

रातमा, मलाई नियालि नियालि
गिज्याइरहन्छन् ताराहरुले
छानाका प्वालहरुबाट
चिसो चुलोको किनारमा
लडिरहन्छ जिन्दगी
दुई टुक्रा रोटी कुरेर

यो निर्जीव अध्यारा कोठाको भित्ताहरुले
सुन्छन् मेरो मुटुको धड्कन
तपाईंका कानले सुन्दैनन् ?
जो आफ्नै गतिमा बजारिएको हुन्छ
जून ताराहरुले देख्छन्
चर्किरहेको मेरो जिन्दगीलाई
देख्दैनन् तपाईंलेका आँखाहरुले ?

प्वाल पारिदिन्छ शितले
मुटुजस्ता कापी किताबहरु
निलिदिन्छ खियाले डट्पेनका शिरहरु
खोई त म
केले लेखुँ ?
केमा लेखुँ ?
कसरी लेखुँ ?

तपाईंले सिकाउनु भएको ज्ञान
म सित शब्द नभएको होइन
वर्णन गर्ने सार मिलेन
भन्ने मेरो शैली मिलेन
अह मैले भनेको खोई ?
यो अजिव सहरका ठुल्ठूला
घरका भित्ताजस्ता मनले बुझेन

नसुनाउनुस् अब मलाई
सङ्घर्षका ती ठूला पाठ
नसिकाउनुस् त्यो
बिजगणित जस्तो निरस शैलीमा
नसिकाउनुहोस् मलाई जीवनको पाठ
नसिकाउनुहोस् पखेटा काटेर उड्न
मलाई सक्नुहुन्छ

फुलाईदिनुहोस् म भित्र लुकेको मुस्कान
बुझिदिनुहोस् मेरो आँशुको गहिराई
भरिदिनुहोस् रंग उजाड मुहारमा

सक्नुहुन्छ
उत्खनन् गरिदिनुहोस्
मभित्र लुकेका चिजको
सकिदैन,
नहिर्काउनुहोस्
अहमताको ह्याम्बरले
मेरो मौलिकताको छातिमाथि
म जे छु ठिक छु

थाक्न चाहान्छु मौनतामा रमाउन चाहन्छु
म स्वच्छन्दरुपमा कुरा खोलेर
बोलेर, होइन अब
घर फर्किन चाहान्छु
यो बिरानो सहरबाट
झोलाभरी खुसि बोकेर
तनाव होइन।

अहडाम्य तिरस्कार होइन
सहानुभुति ,सद्भावको आभास गर्ने ,
पीडा थप्ने होइन, पीडा बुझ्ने ,
हात बाँधी बस्ने होइन, हात दिने
यो दुनियाँ यति बुझिदिने भए पो
तेस्रो नयन खुल्थ्यो
सायद सबैका दुःखका
ती ठुला भारी
बिसाउने चौतारी बन्थ्यो

जसले देखावटी देख्छ
मैले हिंड्नु परेको बाटो देख्दैन
मेरो आँशुको मुल्य बुझ्दैन
जो मेरा हरेक कुराको
ठट्टा बनाउँछ मेरा दुःखहरुलाई
देखिने गरि देखिएको
जसले मेरो जिन्दगी देख्दैन
खोइ कसरी सुनाउ म मेरा दुःख

यो अन्जान सहर
यी मन भरीका पोख्नै नसकिने मेरा रहर
खोई कहिले पाउछ यो मनले सन्तुष्टिका
पङ्खहरु लगाई उड्ने ठाउँ
अनि कहिले आउँछन्
यी निराशाका पन्छिने बाटाहरु

हर क्षण हर पल
यो भारी मन
जो हजार क्विन्टल उठाकोजस्तो
आभास दिलाउँछ
जो सबैबाट टाढाको बाटो रोज्न खोज्छ
खोई कसरी सम्हालु यो मनलाई ?
खोई कसरी सम्झाउ ?
यो खोक्रो भएको निराश जिन्दगीलाई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार