विराटनगर । पर्यटक भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा विराटनगरमा २४ दक्षिणी कोरियाली नागरिक पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यु कोभेनन्ट कलेज’को धार्मिक प्रशिक्षण कार्यक्रमबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङका एसपी कवित कटुवालका अनुसार टुरिस्ट भिसामा १२ दिन बस्ने गरी मोरङको सुन्दरहरैंचा आइपुगेका उनीहरू क्रिश्चियन लगानी भएको उक्त कलेजको धार्मिक कार्यक्रममा सहभागी भएको पाइएको छ। उनले भने, ‘उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै बस्ने कार्यतालिका थियो, तर हामीले कानुनविपरीत गतिविधि भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिएर शुक्रबार साँझै अध्यागमनमा बुझाउन काठमाडौं पठाएका हौँ।’ अध्यागमन विभागो समेत सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ परेकालाई अध्यागमन विभागबाट कारबाही गरी निष्काशन गर्न लागिएको छ ।