२०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

पशुपति मन्दिरमा भएको घटनाको साइबर ब्युरोले अनुसन्धान गर्ने, पशुपति कोषद्वारा छानबिन समिति गठन

बुधवार, आश्विन २१ २०८३०१:३१

काठमाडौं - पशुपतिनाथको मुल मन्दिरमा मंगलबार भएको एक घटनाको छानबिन सुरु भएको छ। हिन्दु संस्कृतिको मर्मविरुद्ध मन्दिरभित्र एक मुस्लिम दम्पत्ति प्रवेश गरी त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषले सो प्रकरणमा छानबिन थालेको छ। कोषका सदस्य रामशोभित नायकको संयोकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ। साथै, थप अनुसन्धान गर्न कोषले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ। 
कोषको बैठकले मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्ने निर्णय पनि गरेको छ।

घटनापछि कोषको कार्यसम्पादन समितिको आकस्मिक बैठक मंगलबार बसेको थियो। बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण पनि भएको जनाएको छ। 

प्रियका सनी नामक टिकटक अकाउन्टबाट मन्दिरको परम्परालाई चुनौती दिने गरी भिडियो सम्प्रेषण भएपछि हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले छानबिनको माग राखेका थिए। पशुपतिनाथको मुल मन्दिरमा हिन्दु धर्मावलम्बीबाहेकलाई प्रवेश निषेध छ।

यस्ता छन् कोषका निर्णयहरू-

 
मिति २०८३ असोज १९ गते आराध्यदेव भगवान् श्रीपशुपतिनाथ मन्दिरको प्रवेशद्वारबाट एक युवा जोडी भित्र प्रवेश गर्न खोजेको भिडियो सामाजिक सञ्जालको टिकटक मार्फत सार्वजनिक भएको विषयमा पशुपति क्षेत्र विकास कोषको गम्भीर ध्यानाकर्षण भएको छ। धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त संवेदनशील एवं महत्त्वपूर्ण पशुपति क्षेत्रको सुरक्षा, मर्यादा तथा व्यवस्थापनप्रति कोष सदैव संवेदनशील र जिम्मेवार रहँदै आएको छ।

उक्त विषयमा कोषले गम्भीरतापूर्वक ध्यान दिँदै मिति २०८३ असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन समितिको आकस्मिक बैठकबाट देहायबमोजिमका निर्णयहरू गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

१- श्रीपशुपतिनाथ मन्दिरमा हिन्दू धर्मावलम्बीहरूलाई मात्र प्रवेशको अनुमति रहेको जानकारी हुँदाहुँदै मिति २०८३ असोज १९ गते प्रियङ्का रानी नामको टिकटक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी श्रीपशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि हदैसम्मको कारबाही तथा सजायका लागि नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गर्ने निर्णय गरिएको छ।
२- उक्त घटनाका सम्बन्धमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूबाट के(कस्तो कमजोरी भएको हो तथा घटनाको सत्यतथ्य यथार्थ रूपमा पत्ता लगाई सुझावसहितको प्रतिवेदन पेस गर्न परिषद् सदस्य श्री रामशोभित नायकको संयोजकत्वमा, परिषद् सदस्यहरू श्री गङ्गासागर बानियाँ, श्री सङ्गीता कुमारी राम, श्री केदारमान भण्डारी र श्री रूपा शाही वास्तोला सदस्य रहेको छानबिन समिति गठन गर्ने र उक्त समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्ने समयावधि तोक्ने निर्णय गरिएको छ।
३- यस घटनाबाट श्री पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सुरक्षा कार्यलाई सुदृढ बनाउने निर्णय गरिएको छ।
४- यस घटनामा श्रीपशुपतिनाथ मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारबाट खटिएका विभिन्न निकायका सुरक्षाकर्मीहरूबाट हुन गएको कमजोरीप्रति कोषको तर्फबाट क्षमायाचना गर्ने निर्णय गरिएको छ।
५- यस घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण संघ(संस्था एवं महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरूले व्यक्त गर्नुभएको चिन्ता र चासोलाई सम्बोधन गर्न कोषको तर्फबाट प्रतिबद्धता व्यक्त गर्ने निर्णय गरिएको छ।
पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक गरिमा कायम राख्दै सम्पूर्ण दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आम नागरिकको सुरक्षा व्यवस्थालाई कोषले उच्च प्राथमिकतामा राखेको छ।
यस सन्दर्भमा, आधिकारिक सूचना र तथ्यमा विश्वास गरी धार्मिक आस्था एवं आपसी सहिष्णुता र सद्भाव कायम राख्न सरोकारवाला तथा आम नागरिकहरूमा हार्दिक अनुरोध गरिन्छ।
पशुपति क्षेत्र विकास कोष
कार्य सम्पादन समिति
२०८३/०६/२०

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार