काठमाडौं । भोटेकोशीको भिषण बाढीको दुई साता हुँदा पनि खोजी तथा उद्धार सकिएको छैन । नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा सुुरक्षाकर्मीले खोजी गरिरहेका छन्। गुरुङबाट १० औं दिनमा दुई जना र ११ औं दिनमा एक जनाको सकुशल उद्धार भएको थियो ।
कस्तो छ अवस्था ?
रसुवागढी जलविद्युत् आयोजना,रसुवा
रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ। आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको थियो। तर, मानिस फेला परेन्। हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी छ।
लाङटाङ जलविद्युत् आयोजना,रसुवा
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको थियो। त्यहाँ ठूला चट्टानहरु भेटिएका थिए। भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीहरु समेत खटिए। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला परेका थिए। निर्माणधिन आयोजना भएकाले त्यहाँ धेरै कर्मचारी फसेको आशंका गरिएको छ ।
चिलिमे जलविद्युत् आयोजना,रसुवा
नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो। तर, दलदलका कारण सुरुङभित्र जान समस्या भयो। नेपाली सेनाले भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको थियो। भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोज कार्य सुरु गरेको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौैं। खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग भइरहेको छ।
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना, रसुवा
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको थियो। चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको थियो। भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गर्यो। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखिएको थियो । तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरिएको थियो। त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजी जारी राख्यो। खोजको क्रममा एक जनाको शव फेला पर्याे।
त्रिशूली ३ ए, जलविद्युत् आयोजना, नुवाकोट
यो आयोजनाको सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरिएको थियो। खोजलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न ६ वटा एस्काभेटर प्रयोग भएकोमा करिब २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लागेको थियो।
सोही सुरुङमार्फत उद्धार टोली घ्रिसिएर भित्र प्रवेश गर्यो। सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो। त्यतिले नपुगेर नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर पनि ल्याइएको थियो। उक्त कार्यका लागि ड्रिलिङ मेसिन समेत लगेर प्रयोग गरिएको थियो। यी सबै सामग्रीहरु हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो।
भदौ १९ गते सुरुङबाट २ मानिसलाई उद्धार भयो। थप खोजी जारी छ।
त्रिशूली ३ ‘बी’ आयोजना, नुवाकोट
त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो। उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । तर, दलदलका कारण खोजका उपकरणहरु लग्न सकिएको थिएन। हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ। उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १.७ किलोमिटर भित्र प्रवेश गरेको थियो। त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको थियो।
खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ। आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको छ।