धनगढीः कैलालीको कैलारी गाउँपालिका घेराउ गरिएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।
यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि छन्। तर, कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन्।
बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षले बताएका छन्। पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने उनीहरुको माग छ। तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ।
यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ।