धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्। आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई भेटेर बधाई साटासाट गर्दै सुदूरपश्चिमका विकासका सम्भावना बारेमा छलफल गरेका थिए।
मुख्यमन्त्री रावलसंगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको विकासे योजनाको अनुगमन÷निरीक्षक सुदूरपश्चिमबाट सुरुवात गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणमा आउने निश्चित भएपछि मुख्यमन्त्री रावलले प्रदेशका सचिव, उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन समेत दिएका छन्। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना, सेती लोकमार्ग र गेटा मेडिकल कलेज लगायत विभिन्न राष्ट्रिय गौरबका आयोजनाको प्रधानमन्त्री दाहालले निरीक्षण गर्ने छन्।
स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण तथा बजेटको अवस्थाको बारेमा जानकारी लिनेछन्। फागुन १ गते नै प्रधानमन्त्री दाहालले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्ने कार्यक्रम पनि छ।