धनगढी: बाजुरामा हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली भएको छ। हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर बाजुरामा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। यस्तै, बझाङमा पनि केही घाइते भएका छन्।
भूकम्पका कारण बाजुराका धेरै घरहरु चर्किएका र केही भत्किएका छन्। फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताएका छन्। केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन्। भूकम्प प्रभावित क्षेत्रमा अस्ति रातिदेखि लगातारजसो पानी परिरहेको छ। यस्तै, हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ। हिमपात र वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन्। लगातारजसो परेको वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार अहिले पनि पानी परिरहेको छ। पानी परिरहेकाले भूकम्पबाट भएको क्षतिको सङ्कलन र उद्धारमा कठिनाइ भएको उनले बताए। भूकम्पबाट कति विस्थापित भए भन्ने जानकारी आउन बाँकी रहेको छ। अहिलेसम्म एक महिलाको ज्यान गएको र ३० वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको उनले बताए। यस्तै, ४० वटा भेडालाई पहिरोले पुरेको छ।