काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानको फुकुओकामा नेपाल फेस्टिभल–२०२२ को उद्घाटन गरेका छन् ।
शनिबार फेस्टिभलको उदघाटन गर्दै अध्यक्ष दाहालले जापानका पूर्व प्रधानमन्त्री आबेसँग राम्रो सम्बन्धमा रहेको बताएका छन् । उनले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट आफू सम्पर्कमा रहने गरेको बताएका हुन् ।
यसअघि अध्यक्ष प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री आबे नेपाल आउँदा २र३ पटक कुराकानी भएको बताएका थिए । नरिता विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, ‘म जापान आउने तय भएसँगै पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २र३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्याक्सन भएको थियो ।’
फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै उनले भने, ‘एक–डेढ महिनाअघि नै जापान आउने निर्णय भएको थियो । त्यति बेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका रूपमा पनि जापानका पूर्व प्रधानमन्त्री आबेसँग विभिन्न रूपले म सम्पर्क र कुराकानीमा हुने गरेको थिएँ । र, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग भेट्ने र फेरि एक चोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्याएको थिएँ । तर दुर्भाग्य उहाँको यहीबिचमा बडो दुर्भाग्यपूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोक सन्तप्त परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’
विस्तृत शान्ति सम्झौतापछि संविधानसभा निर्वाचनकै बेला आफूलाई जापान भ्रमण गर्ने इच्छा भएको पनि उनले बताए ।