महिला प्रहरीलाई एसपी ज्ञवालीले यौन दुर्व्यवहार गरेको पुष्टि, प्रधान कार्यालयले दियो नसिहत

0

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीलाई नसिहत दिएको छ। ज्ञवाली दंगा नियन्त्रण गण बेलचौतरा तनहुँका प्रमुख हुँदा उनीमाथि आफ्नै कार्यालयकी एक विवाहित महिला प्रहरी जवानमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो।

ती महिला प्रहरी कर्मचारीले डिएन ज्ञवालीको नामबाट प्रहरीमा चिनिएका एसपी दयानिधी ज्ञवालीविरुद्ध गण्डकी प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गरेकी थिइन्।

सोही उजुरीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको थियो। एसपी ज्ञवालीको कमजोरी फेला परेपछि उनलाई प्रहरी निवमावलीअनुसार नसिहत दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

नसिहत पाएसँगै उनी अब एक वर्षसम्म इन्चार्ज हुनबाट वञ्चित, बढुवालगायत अन्य अवसर पाउनबाट वञ्चित भएका छन्। उनलाई ट्रयाक रेकर्डमा जनाइने गरी नसिहत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

महिलाले एसपी ज्ञवालीबाट यौन दुर्व्यवहारमा परेको भन्दै गतवर्ष जेठमा प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी थिइन्। ज्ञवालीले ती महिला प्रहरीलाई टेलिफोन तथा मोबाइलमा अभद्र म्यासेज गरेर यौन दुर्व्यवहार गरेको खुलेपछि नसिहत दिइएको प्रहरी प्रधान कार्यालले जनाएको छ।

दंगा नियन्त्रण गण तनहुँमा रहेका बखत एसपी ज्ञवालीले त्यही कार्यरत महिला प्रहरीमाथि एक बर्ष अघि यौन दुव्र्यवहार गरेका थिए। यस विषयमा महेन्द्रनगर पोष्टले समाचार लेखेपछि तथ्यहिन समाचार लेखेको भन्दै उनले मानहानी भएको भन्दै प्रेस काउन्सिलमा समेत उजुरी दिएका थिए।एसपी ज्ञवाली संगठनमा विवादित र भ्रष्ट आचरण भएको प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

सुरक्षा संगठनभित्र उच्च दर्जाको अधिकारीले माफूमातहतको महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नु गम्भीर आचरण उल्लंघन मानिन्छ।