दार्चुलाका सिमानामा न हेल्थ डेस्क न होल्डिङ सेन्टर, गाउँ–गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता

0

ललित सामन्त,दार्चुला-भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि दार्चुलाबासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ।

सरकारको यो व्यवास्ताले गाउँ–गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता बढेको छ।दार्चुला भित्रिने मुख्य गरी पाच वटा सीमा नाका छन।जिल्लाको पुलघाट, दत्तु ,जोलजिवी, लाली,र तिग्रम यी नाकाहरुबाट दैनिक रुपमा छिमेकी राष्ट भारतमा काम गर्न गएका नेपालीहरु घर फर्किरहेका छन्। तर यि नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्ने ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन।

दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा ल्याइएको छैन। सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत राख्न सकिएको छैन।दार्चुलाको नेपाल भारत जोड्ने पुलघाट नाकामा मात्रै हेल्थ डेस्क संञ्चालनमा रहेको छ। यहाँबाट अहिले दैनिक सयौको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन। यो नाकामा मात्रै कोरोना परीक्षण तथा एन्टिजेन परीक्षण हुने गरेको छ।

‘भारतबाट फर्केकाहरुमा दैनिक संक्रमणको दर बढ्दो छ, नाकामा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुने सम्भावना प्रबल छ स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन विरेन्द्र राज भट्टले भने। जिल्लामा एउटामात्रै पीसीआर परीक्षण प्रयोगशाला छ। तर पनि पिसिआर प्रयोगशाला प्रयोग विहिन अवस्थामा रहेको छ। सुदुरपश्चिम प्रदेश सरकारले प्रयोगशाला कोरोनाको दोस्रो लहरका बेला जडान गरेको थियो। दक्षजनशक्ति नहुँदा अहिले यो प्रयोगशाला हाल बन्द छन्।

कोरोनाको तेस्रो लहर शुरु भैसकेको बेला दार्चुलामा पूर्वतयारी कस्तो छ ? भन्ने फरकधारको प्रश्नमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले ‘दोस्रो लहर कम भएपछि बन्द गरिएका संरचनाहरु व्युँताउँछौं। नाकामा भेटिएका संक्रमितहरु सम्वन्धित पालिकाको समन्वयमा गाउँ पठाउन थालेका छौं’ उनले भने, ‘अहिलेसम्म खासै तयारी छैन। अब जुट्छौं।’

जिल्लामा विगत दोहोरिने चिन्ता
अबको केही दिन भित्रै प्रमुख नाकाहरुमा हेल्थ डेस्कसहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत भट्टको भनाई छ।‘जोलजिवीमा एउटा टिम गइसकेको छ, अन्यमा पनि अबको केही दिनमै पठाउँछौं।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँछौं,’ उनले भने। भारतमा ओमिक्रोनको फैलावट र सीमा क्षेत्रमा संक्रमणदर बढ्दै गएकाले दार्चुलामा अबको केही हप्ता भित्रै कोरोना संक्रमितको संख्या उच्च हुने आंकलन गरिएको छ। ‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ।

सीमा नाकामै परीक्षण गर्ने र संक्रमितलाई ‘होल्डिङ सेन्टर’मा राखेरमात्रै घर पठाउने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ,’ दोस्रो लहरका बेला सीमा नाकामा सावधानी नअपनाउँदा दार्चुलाले ३ जना महिला सहित ११ जनाको क्षति व्यहोरेकोे थियो। अहिले गरिएको व्यवास्ताले फेरि पनि विगत दोहोरिने चिन्ता छ।