सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवद्र्धन गर्ने साझा दायित्व

0

काठमाडौं-नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उनले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गरे।

प्रवक्ता सिल्वालले भने, “सञ्चारजगत्लाई बुझ्ने र सेनालाई हेर्ने दृष्टिकोणमा देखिने खाडललाई कार्यसम्पादनका आधारमा अन्त्य गर्नुपर्छ।” निवर्तमान प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रवक्ताको जिम्मेवारीमा रहेपछि पत्रकारिताप्रतिको आम धारणा र आफ्नो बुझाइ गलत सावित भएको बताए।

उनले भने,, “पत्रकारिता जगतले राष्ट्रिय सुरक्षाका सवालमा अत्यन्तै सजग र संवेदनशील भई उच्च प्राथमिकता दिएको पाएँ, जुन मैले सोचेकोभन्दा फरक रह्यो। कार्यप्रकृति, क्षमता र प्रभाव अलगअलग हुने भएकाले सबै मिडियालाई एउटै आँखाले हेर्न नहुने रहेछ। जनता र राष्ट्रहितका सबैको एउटै गतिमा अघि बढ्न जरुरी छ।”

राजधानीबाट प्रकाशित एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका बिटमा समाचार लेख्ने पत्रकारको कार्यक्रममा सहभागिता थियो। प्रवक्ता सिल्वालले आजै आफ्नो जिम्मेवारी सम्हालेको हुन्। निवर्तमान प्रवक्ता पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भइसकेको छ।रासस