दार्चुलाका प्रिन्स दाहाल ! ब्याडमिन्टनमा इतिहास वन्यो ,जुनियर विश्व वरीयतामा नम्बर १

0

काठमाडौं-नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्व बरियताको शीर्ष स्थानमा उक्लिएका छन्। पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा दार्चुलाको खलङ्‌गामा जन्मिएका प्रिन्स दाहाल जुनियरतर्फ विश्व बरियताको शीर्ष स्थानमा उक्लिएका हन्।

नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो। तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन्। कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो।

उमेर समूहमा नेपालका लागि ब्याडमिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५ औं स्थानमा छन्। हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ।उनले नेपालमा र विदेशमा गरी दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन्।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए। अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।

यस्तै व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ। ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए। दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ।

राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ। कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन्। 

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ।पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत छन्।

दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैनन्।