प्रधानमन्त्रीकप राष्ट्रिय टी-२० क्रिकेटः एपिएफको दोस्रो जित

0

काठमाडौँ– प्रधानमन्त्रीकप राष्ट्रिय टी-२० क्रिकेटमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।

समूह ‘बी’मा रहेको एपिएफले मंगलबार भएको खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफको जितमा बमको इनिङ उत्कृष्ट रह्यो। पहिलो ब्याटिङ गर्दै बागमतीले एपिएफलाई जितका लागि १२६ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य एपिएफले ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लियो।

एपिएफको जितमा लोकेश बमले २४ बलमा १० चौका र १ छक्काको सहयोगमा ५० रनको सानदार अर्धशतकीय इनिङ खेले।

त्यस्तै ओपनर प्रदीप ऐरीले ५४ बलमा ३६ रन बनाउँदा आसिफ शेख १२ रनमा आउट भए। सन्दीप जोरा १५ रनमा अविजित रहे।

त्यसअघि बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीका लागि ओपनर ईशान पाण्डेले २९ रन बनाउँदा सुवास खकुरेलले २१ रन बनाएका थिए।

त्यस्तै नन्दन यादवले २४ रन बनाउँदा अदिल खानको नाममा १९ रन रह्यो।

एपिएफका लागि अविनाश बोहोराले ३२ रन खर्चिएर ४ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट लिँदा किशोर महतो र शरद भेषबाकरले समान १-१ विकेट हात पारे।