पाण्डव र कौरवको लडाईसँग जोडिएको भुवा पर्व आजदेखि सुरु

0

बाजुरा-बाजुरामा भुवा पर्व सुरु भएको छ। प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ र अछाम जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो। यस बर्षको भुवा पर्व आजबाट सुरु हुने भएको छ। बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलिने भुवा पर्ब आज देखि विधिवत रुपमा सुरु भएको बुढापाकाहरुले बताएका छन्।

अयोध्याका राजा राम र रावणको लडाइ पछि राजा रामको बिजय भएको पौराणीक भनाइ अनुसार औसीको अघिल्लो रात अर्थात पुस औसीको अघिल्लो रात (राका) सल्काएर स्थानीय भाषामा (चेणे) सल्काउने भनेर मुण बाल्ने गर्दछन। जिल्लाका बिभिन्न स्थानमा खेलीने भुवा पर्ब स्थानीय परम्परा अनुसार मागल भन्ने देउडा खेल्ने भोस्ओ लगायतका बिभिन्न संस्कृती झल्कने झाकीहरु प्रस्तुत गरिने गर्छ।

त्यसै गरि पाण्डव र कौरवको लडाँइ सँग सम्वन्धीत पौराणीक भनाइ अनुसार ५ दिन सम्म ढाल तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको छ। त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ। बाजुरा जिल्लाका धेरै गाउँपालिका र नगरपालिकाहरुमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन।

बाजुरा जिल्लाका मार्तडी,जुगाडा,पाण्डुसैन,बम्रतोला,कैलाशमाडौ,कुल्देवमाण्डौँ लगायतका स्थानमा यो पर्व विषेश रुपमा मनाईन्छ।रातभरी आगोको मुढा सल्काएर देउडा,भारीखेल,भोस्सो लगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ। पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्ला बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् ।

यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्वीरहरु पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।

जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधीभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन्। पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्चिमका अछाम, बझाङ्ग लगाएतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ।

भुवा पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैगरि पूर्खोली घर बाजुरा भई धनगढी बसोबास गर्ने बाजुरेली समाजले पनि धनगढीको खुल्ला मञ्चमा आजदेखि भुवा पर्व सुरु गर्दै छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेपछि विधिवत रुपम सुरु हुने छ। कञ्चनपुरमा पनि ४६ बर्षपछि भुवा पर्व सुरु गरिने बताईएको छ।