धनगढीको खुल्लामञ्चमा आईतवार देखि भुवापर्व मनाईने

0

कैलाली-बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा मौलिक पर्व भुवा मनाउने भएको छ। पुसे औँसी देखि भुवा पर्व सुरु हुँदैछ। यस बर्षको औँसी आईतबार परेको छ। आईतबार धनगढीको खुल्ला मञ्चमा विहानै मुढा जलाएर सुरुवात गरिने छ।

आईतबार दिउँसो ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी ले औपोचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिए। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी पर्वका बारेमा जानकारी गराएको हो।

भुवा पर्व सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने विशेष चाड हो। धनगढीको खुल्ला मञ्च (पुरानो एयरपोर्ट) मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइने समाजका अध्यक्ष थापाले बताए। आईतबार र सोमबार गरी दुई दिन खुल्लामञ्चमा भुवानाच खेलाईने छ।

भुवा पर्व मनाउन बाजुराबाट बसाइसराई गरि आएकाहरु सक्रिय हुने गरेका छन्।असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको बाजुरारेली सेवा समाजले जनाएको छ।

भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ।भुवा महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ। सोही लडाइँको सम्झना तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको अधिकारी बताउँछन्।