मनै लोभ्याउने अद्भुत धार्मिक स्थल लिङ्गा !

0

कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो।यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ। साउन महिना यसको विशेष महत्व छ। आन्तरिक तथा बाह्य पर्यटकहरुले त्यहाँ पुगेर मनोरन्जनका साथै शिवलिङ्गेश्वरको दर्शन गर्ने गर्छन्।

हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हजारौं मानिसहरु त्यहाँ पुगिरहेका छन्। सानो खोलाको किनारमै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ। माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन।

पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको झ्न आकर्षणको केन्द्र विन्दु बनेको छ।

टाढाबाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ। एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन्।स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ।

प्रकृतिको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैद गरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत केही बर्ष यता देखि हुदै आएपछि यस क्षेत्रले झन् चर्चा पाउन सफल भएको स्थानीय देवीदत्त जोशी बताउँछन्।टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको छ।

यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ। स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको बताईएको छ।

यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन। शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ। स्थानिय ७७ बर्षिय रामदत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताए।

माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनको भनाई छ।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो।यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउँछन्।

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ। बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए।

लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ। बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ।