देउवा व्यस्त हुँदा ओझेलमा काँग्रेस महाधिवेशन

0

काठमाडौँ-नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा पर्दै गएको हो ।

प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । जसका कारण कांग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन सुरु गर्न सकेको छैन । १३ जिल्लामा वडा अधिवेशन नहुँदा महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय अन्योलमा पर्दै गएको बताए । ‘महाधिवेशन त घोषणा भयो तर अझै पनि हुने कि नहुने अन्योल छ, पार्टीको बैठक हुन सकिरहेको छैन, मैले सभापतिलाई दसैंलगत्तै पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाउन भनेको छु, अब यसरी पार्टी चल्दैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

उनले दसैंलगत्तै सभापति देउवालाई पदाधिकारी बैठक बोलाएर महाधिवेशनबारे स्पष्ट कार्यक्रम बनाउन आफूले आग्रह गरेको जानकारी दिए । त्यसपछि केन्द्रीय समिति बैठक डाकेर पार्टीको महाधिवेशनबारे निर्णय लिन सभापतिलाई भनेको पौडेलले बताए् । सभापति देउवाले भने निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत संशोधन गर्ने तयारी गरेका छन् ।उनीनिकट एक नेताका अनुसार प्रदेश अधिवेशन मंसिर पहिलो साता गर्नेगरी तयारी भइरहेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समेत प्रदेश र केन्द्रको पूर्वनिर्धारित मिति हेरफेर गर्दै १४औं महाधिवेशनको कार्यतालिका फेरि संशोधन गर्ने तयारी भएको बताउँदै आइरहेका छन् ।

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन केही दिन सर्ने अवस्था सिर्जना भएको बताएका हुन् । कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेपछि ती जिल्लामा त्यसपछिका तहका अधिवेशन हुन सकेको छैन ।

पछिल्लोपटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।

हालसम्म कांग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशनसम्म सम्पन्न गरेको छ । धेरैजसो जिल्लामा वडा र पालिका अधिवेशनपछिका अधिवेशन सम्पन्न हुन सकेका छैनन् । निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नसघाएर भए पनि जिल्ला अधिवेशन सुरु गरेको थियो ।

वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा दसैंपछि मात्रै अधिवेशन गर्ने भनिए पनि अधिवेशनको मिति अनिश्चित छ । प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । कांग्रेसले अझै रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।