मोतीपुर घटनाः मृतकका परिवारलाई जनही १ लाख दिने निर्णय

0

बुटवल- रुपन्देही मोतीपुरमा वास्तविक सुकुम्वासीको समस्या तत्काल हल गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्देशन दिएका छन् ।

सोमबार सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न र सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्।मुख्यमन्त्रीको निर्देशनसँगै समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मोतीपुरको समस्या हल गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोली सहभागी रहेका छन्।

समितिको बैठकले मृतकका परिवारलाई राहतस्वरुप जनही १ लाख प्रदान गर्ने निर्णय पनि गरेको छ । साथै, आइतबार घटेको अप्रिय घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश सरकारले समवेदना व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी दिएका छन् भने घाइतेहरूको उपचार खर्च राज्यले ब्यहोर्ने भएको छ।