दार्चुलाबाट पक्राउ परेका १२ जुवाडेमाथि मुद्धा दर्ता, अनुसन्धान शुरु

0

दार्चुला-दार्चुला सदरमुकाम खलंगाको तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरबाट आइतवार दिउँसो जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका १२ जनामाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको छ।

मुद्धा दर्ता किताबमा चढि सकेको र १० बजेपछि दर्ता गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। दार्चुला जिल्ला अदालतबाट सोमबार म्याद थप गरि अनुसन्धान थालिने उनको भनाई छ।

प्रहरीले सार्वजनिक गरेको दशैँ तिहार लक्षित सुरक्षा योजना अन्तर्गत विस्वस्त सूचनाका आधारमा तिंकरखेडास्थित बुढाथोकीको घरमा छापा हान्दा नेता, व्यापारीसहित १२ जनालाई जुवाखालबाट पक्राउ गरिएको छ।

जुवाखालबाटै दुई लाख ३७ हजार ३९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ७ थान खाली पर्स, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट बरामद गरिएको छ।