चाडपर्वको समयमा थप चनाखो हुन प्रहरी महानिरीक्षकको निर्देशन

0

काठमाडौं –प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिँदै गरेको दसैँलगायत विभिन्न चाडपर्वको समयमा हुन सक्ने अपराध र सवारी दुर्घटना न्यूनिकरणतर्फ थप चनाखो भई जिम्मेवारी वहन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडिओ कन्फ्रेन्स मार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका हुन्।

महानिरीक्षक थापाले चाडपर्वको समयमा जुवातास तथा मादक पदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने बताए।

कानून विरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन समेत उनले निर्देशन दिए। सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामुहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्नुको साथै प्रहरी हेल्प डेस्क समेतलाई क्रियाशील गराई आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए।

हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैँ चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले सीमा नाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्न निर्देशन दिए।

समाजमा शान्ति सुरक्षा प्रत्याभूत गर्न सबै सुरक्षा निकायहरू बिच संयुक्त रुपमा समन्वय र समझदारी हुनुपर्ने चर्चा गर्दै उनले ऐन कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गरी आ–आफ्नो काम कारवाही अगाडि बढाउनुपर्ने बताए।