आज वडादशैंको चौंथो दिन, कुष्माण्डादेवीको पूजा आराधना गरिँदै

0

काठमाडौं –हिन्दु नेपालीहरुको महान चार्ड वडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज आइतबार कुष्माण्डादेवीको पूजा आराधना गरिँदैछ। 

कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने गरिन्छ। आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख छ। उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ। 

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ। कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो। उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाशनिबारा गर्ने चलन छ। 

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । यस दिन काठमाडौं को दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने प्रचलन छ। तर कोरोना संक्रमणको जोखिम रहेकाले भौतिक दुरि कायम गरि मात्र शक्तिपीठहरुमा भक्तजनहरुलाई प्रवेश गराइने भएको छ। 

घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्री भन्ने गरिएको हो। प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले प्रचलित छ।