प्रहरी ऐनलगायत तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय

0

काठमाडौँ-मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले विभिन्न तीन विधेयक संसदमा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ।

सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

आजको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताए।

त्यसै गरी सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धी विधेयक र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए।