एनभीए भलिबल च्याम्पियनसिप: आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात

0

काठमाडौं-विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोट्र्स क्लबले छैटौं संस्करणको एनभीए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबारदेखि सुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो। 

प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो। 

तेस्रो खेलमा बाग्लुगको गल्कोट स्पोट्र्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकालल्दै विजयी सुरुवात गर्न सफल भयो। पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। 

पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो।

च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ। च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ।

टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ। बूढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोट्र्स क्लबसँग खेल्नेछ। महिलातर्फको खेल १२ असोजदेखि सुरु हुनेछ।