सेती अस्पतालमा सञ्चालनमा आयो लिक्विड अक्सिजन प्लान्ट

0

कैलाली- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको छ। यही भाद्र २१ गतेदेखि अस्पतालले लिक्विड अक्सिजन प्लान्टबाट सेवा सुचारु गरेको हो। स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरी भाद्र २१ गतेदेखि सेवा दिन थालिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन भण्डारण गरेर आवश्यकता परेका बेला आपूर्ति गर्न सकिने विश्वास लिइएको छ। प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको हो। यसअघि कोभिड-१९ को दोस्रो लहर चलेको समयमा अक्सिजन नपाएर कतिपय नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको थियो।