चाडपर्व लक्षित उपत्यकाको सुरक्षा योजनाः ७ हजार प्रहरी परिचालन

0

काठमाडौं –बडादशैं, तिहार तथा छठपर्व लगायतका चाडबाड लक्षित गरी शान्तिसुरक्षाका लागि सात हजार प्रहरी परिचालन गरिने भएको छ। चाडपर्व अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको समेत प्रयोग गरिने भएको छ।

उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले बताए।

महानगरीय प्रहरीले पकेटमारी, चोरी, डकैति, डाँका, हतियार देखाइ लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुरबुर्जा, दैनिक उपभोग्य बस्तुको कालोबजारी, महँगी लगायत १५ विषयलाई सम्भावित चुनौतीको रुपमा राखेको छ।

यी चुनातीहरुको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य बजारक्षेत्रमा कुकुर सहितको सुरक्षाव्यवस्था र बजारक्षेत्र तथा व्यापारिक केन्द्र, सुपरमार्केट, बैंक तथा वित्तीय संस्थाहरुमा सिसिक्यामेराबाट निगरानी बढाइने बताइएको छ।

त्यसैगरी मदिरा सेवन सँगै तीव्र गतिमा सवारी चलाउने, आफूखुशी भाडा अशुल्ने, लामोदुरीका सवारीमा दुईजना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधन भित्र महिला, वृद्धा तथा बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न हतियार सहितको जनशक्ति परिचालन गरिएको छ।