डोटीको जोरायलमा सांस्कृतिक संग्रहालय स्थापना

0

डोटी- डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ। रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो।

आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना गरिएको रानीवन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर भट्टले बताए।

संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा, भाँडाकुँडा, गरगहना, वाद्यवादन सामग्री, भेषभूषा झल्काउने सामग्रीको खोजी गरेर राखेको भट्टले जानकारी दिए ।संग्रहालयमा राख्नका लागि स्थानीयले आफूसँग रहेका पुराना वस्तुहरु सुरक्षित साथ राख्न दिएका छन्।