गड्डाचौकी नाकाबाट भारत जाने महिलामाथिको निगरानीमा कडाइ

0

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ जाने महिलाहरुको निगरानीमा कडाई थालिएको छ।

नेपालबाट जाने महिलाहरु बेचविखनमा पर्न सक्ने आशंकामा उनहरुलाई कडाईका साथ सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको हो।मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरेका छन।भारत जाने महिलाका घर परिवारबाट यकिन जानकारी आएपछि मात्रै उनीहरुलाई जान दिने गरिएको थ्री एन्जल्स नेपालका संयोजक बेलुदेबी नेपालीले बताइन् ।

‘नेपालबाट रोजगारी, उपचार, भेटघाटका लागि भारतको विभिन्न ठाउँमा दैनिक महिलाहरु आउने जाने गर्दै आएका छन’ उनले भनिन ‘त्यसमध्ये शंकास्पद व्यवहार भएकालाई उनीहरुका अभिभावकसित सोधपुछ गरेर मात्रै जान दिने गरेका छौं।’

उनका अनुसार कोरोना महामारी संक्रमणमा पनि दैनिक रुपमा ५० जनाभन्दा बढी महिला भारत जाने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीसँगको सहकार्यमा महिलालाई सोधपुछ गरी परामर्श दिने गरिएको नेपालीले बताइन्।