बस्तीले सीमा अतिक्रमण रोकिएको धनगढीको आँखाकाटे गाउँ, किनमेलका लागि भारतीय बजारकै भर

0

कैलाली-बस्तीले सीमा अतिक्रमण रोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१९ लग्गाभग्गा र आँखाकाटे बस्तीका नागरिक सीमाका पीलर बनेर बसेका छन्।

कैलालीको सीमामा अधिकांस नदी पर्दछ। केहि ठाउँमा नदी पारी पनि बस्ती रहेको छ । ती बस्ती भएको हुँदा नै भारतीय पक्षबाट अतिक्रमण रोकिएको छ। लग्गाभग्गा क्षेत्र संगै भारतको दुधुवा राष्ट्रिय निकुञ्ज जोडिएका छ।‘सुरु–सुरुमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले हामीलाई यहाँ बस्न दिँदैन्थे।

हामीले जसोतसो गरी यहीँ घर बनाई खेती गरेर आफ्नो जमिनको रक्षा गरेका छौँ’ स्थानीय हंशराम रानाले भने, ‘अहिले सुरक्षाकर्मीले त्यति समस्या दिँदैनन् तर कहिलेकाहिँ धम्की आउन भने छाडेको छैन।’ उनले आफूहरू सो समयमा त्यहाँ बसोबास नगरेको भए भारतले कब्जा गरिसक्ने बताए। उनले भने, ‘उनीहरु नेपाल–भारतको सीमा यही नदीले छुट्याएको ठान्छन् तर, यो नदीले धार परिवर्तन गर्दा नेपालको बस्ती बढी कटान हुँदै गयो। यो जमिनमा हामी नबसेको भए भारतले आफ्नो भनी दाबी गर्ने थियो ।’

उनले भारतीय सुरक्षाकर्मीहरूले नजिकै सुरक्षा पोष्ट खडा गरेको भए पनि नेपाली सीमा सुरक्षा बलले भने कुनै पोष्ट राख्न नसकेको प्रति गुनासो गरे। उनले भने, ‘भारतीयहरूले पोष्ट नै राखेका छन् तर, हाम्रा सुरक्षाकर्मी कहिलेकाहीँ मात्र गस्तीमा आउने गर्छन्। अन्य समय हामी असुरक्षित महसुस गर्छौँ।’ सरकारले यही एउटा सुरक्षा पोष्ट निर्माण गर्नुपर्ने माग उनीहरुको छ।

उनले आफूहरू बर्षोदेखि सोही बस्तीमा बस्दै आए पनि लालपुर्जा पाउन नसकेको गुनासो समेत गरे। ‘यी सबै जग्गालाई ऐलानी भनिएको छ। भर्खरै सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमा हामीले फर्म भरेका छौँ। आशा छ अब लालपुर्जा हातमा आउँछ।’ उनले भने ।

भारती बजारमा निर्भर बस्ती
यहाँको जीवनचर्या भारतीय बजारमा निर्भर छ। दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार सुडा, चन्दन चौक जानुपर्छ । उक्त बजार पुग्न दुधवा टाइगर रिजर्भ पार गर्नुपर्छ । ‘सुडा यहाँबाट सात किमि टाढा छ, तीन किमि त जंगलै–जंगल हिँड्नुपर्छ’, स्थानीय ठगनीदेवी रानाले भनिन्, ‘फेरि जंगली जनावर उस्तै डर हुन्छ ।’ केटाकेटीलाई पढाउन नपाएको गुनासो स्थानीय बालकिसन पनि सुनाउँछन् । ‘नेपालतिर पठाउन नदीको समस्या भारततिर स्कुल टाढा । हाम्रा छोराछोरी नपढी हामी जस्तै हुने भए’, उनले भने, ‘टाढै भए पनि पठाउन हुन्थ्यो स्कुल भर्ना गर्न रासन कार्ड, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र चाहिन्छ । हामीसँग केही छैन, कसरी पढाउनु ।’