आधुनिक युगको पत्रकारिताको डिजिटल फोरममा ‘महेन्द्रनगर पोस्ट’ यात्राको बर्ष दिन बितेको छ। अघिल्लो बर्षको आजकै दिनबाट हामी पाठकमाझ साँचेका केही सपनाहरुको पोको फुकाउँदै समाचार, विचारसहितका कोसेली लिएर डिजिटल विश्वमा उदय भएका थियौं। हाम्रा सीमाहिन अपेक्षा छैनन् तर उद्देश्य विल्कुलै छन्। मुलुकले सँधै हेपेको, पछाडि पारेको र राज्य संयन्त्रको नजरमा सँधै कमजोर बनाउन खोजिएको सूदुरपश्चिमसँगको भौतिक नाता छ।

मुलुक हाम्रो आमा र सुदूरपश्चिम काख भएकैले कञ्चनपुरको महेन्द्रनगरलाई कार्यालयको केन्द्रविन्दुमा राख्यौं। विश्व कोरोना महामारीको चपेटामा लटपटिएकै बेला हाम्रो जन्म भयो। हामी कति बामे सर्नेछौं र कसरी अगाडिको यात्रा तय गर्नेछौं भन्ने हरेक समयको लेखाजोखा महामारीको प्रभावसँगै निर्भर थियो। तैपनि हामीले संघर्षको मैदानमा हार खाने मानसिकता र कर्म गरेनौं।

सुदूरपश्चिमका सपना, यहाँका अपेक्षा, समाजको चित्र, राज्यले छुन नसकेको बिचित्रतालाई केन्द्र हुँदै विश्वसम्म जानकारी गराउनु थियो र त डिजिटल माध्यमलाई बाटो बनायौं। पत्रकारिता चेतको बिम्ब मात्र होइन, चेतनाको एउटा सुलभ प्ल्याटफर्म हो जहाँ समाजको सानो ईकाईका समस्यालाई ग्लोबल भिलेजमा सुनाउन सक्छौं । यो ३६५ दिनमा हामीलाई सबैभन्दा ठूलो प्रेम पाठकबाट भयो जुन अपेक्षाकृत थियो। अझ यतिले पुग्दैन अझ गर्नुपर्छ भन्ने प्रण रहेको छ । विज्ञापनदाता र यस डिजिटल मिडियामा कार्यरत कर्मचारी सहकर्मी पनि धन्यवादका हकदार हुनुहुन्छ। आगामी दिनका यात्रा अझ व्यापक बनाउने अठोट सार्थ पहिलो बार्षिकोत्सवका अवसरमा सबैप्रति कृतज्ञ छौं।

रवि धामी
अध्यक्ष
अक्सफोर्ड मिडिया प्रा.लि.