प्रदेशको बजेटमा सांसदको चर्को विरोध, सांसद सुवेदीले भने,‘ निर्वाचन क्षेत्रमा १३३ याेजना आएकाे मलाई नै थाहा छैन’

0

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट मा सांसदले चर्को विरोध गरेका छन्। नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेट सरकारको बजेट नै नभएको तर्क गरेका छन्।

‘‘बजेट होइन, सभामुख महोदय बिचौलियाहरुलाई राखेर बनाएको बजेट हो,’ उनले भने, ‘कांग्रेसले स्विकार्दैन।’ सांसद खड्काले प्रक्रिया नै असंवैधानिक तरिकाले ल्याएको हुँदा जनताको पक्षमा हुने कुरै नभएको बताए। ‘योजनाहरु न्यायोचित तरिकाले वितरण गरिदिनुस् । यति लाख उति लाख हामी भन्दैनौँ।’

‘मापदण्डविना नै आएको बजेटको औचित्य नभएको उल्लेख गर्दै उनले अहिले केही सुधार हुने अपेक्षा रहेको तर अन्त्यमा उस्तै बजेट आएको बताए। उनले भने, ‘कोभिडले सबै प्रभावित भएको वेला प्रदेश सरकार भएको महसस भएन, भाषणमा कुरा मिठा भए, तर व्यवहोरमा देखिएन।

यस्तै कांग्रेस सांसद गोविन्दराज बोहराले केन्द्रमा सेटिङमा राज्य सञ्चालन भइरहेको बेला प्रदेशमा त्यो रोग सरेको बताए । उनले भने, ‘सांसदका योजना रातो किताबमा समेटिएका छैनन्, कहाँबाट योजना परेछन्।’

निजी कम्पनीलाई योजना दिएको उनले आरोप लगाए । ‘फर्निचर उद्योगलाई योजना दिएको छ।
सांसद बोहराले प्रदेश सरकार प्रतिपक्षको बाटोमा कहिले जान नसकेको बताए । ‘नजिकको मान्छेलाई योजना हाल्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यसले गर्दा बजेटले प्रदेशको मुहार फेरिँदैन ।’

सत्ता पक्षकै सांसद कृष्णराज सुवेदीले पनि बजेटमा झ्यालबाट योजना हालिएको आरोप लगाए । उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा एक सय ३३ वटा योजना आएका छन्। कहाँबाट आए मलाई थाहा नै छैन। यस्तो पनि कहीँ हुन्छ ?’ मंगलबारको प्रदेश सभामा छलफलमा भाग लिने अधिकांश सांसदले मन्दिरमा योजना नपरेकोमा चिन्ता व्यक्त गरेका छन्।

मन्दिरमा योजना नहालेको सत्ता पक्षका सांसद कृष्णराज सुवेदीले बताए। ‘मेरो निर्वाचनमा मन्दिरमा योजना पार्न आफ्नो स्वकीय सचिवलाई पर्यटन मन्त्रालयमा पठाएको थिएँ, मन्त्रीज्यूले मन्दिरमा योजना नपार्ने भन्दै फर्काए। तर, मन्त्रीको निर्वाचन क्षेत्र दार्चुलामा मन्दिर–मन्दिरका योजना रातो किताबमा राखिएका छन्।’

कांग्रेस सांसद गोविन्दराज बोहराले पनि देवभूमिमा प्रदेश मा मन्दिरमा योजना नपारेकोमा चिन्ता व्यक्त गरे ।

यस्तै छलफलमा भाग लिने सत्तापक्षका सांसद बलबहादुर सोडारीले पनि मन्दिरमा योजना नहालेकोमा चिन्ता व्यक्त गरे । उनले पनि झ्यालबाट योजना आएको कुरा बैठकमा दोहोर्याएका थिए।

कांग्रेस सांसद देवराज पाठकले विगतको बजेट भन्दा कुनै भिन्नता नरहेको बताए । ‘बजेट कनिका छरिएजस्तै छ । यसअघि विपक्षको मात्र वेदना हुन्थ्यो । मंगलबारको प्रदेशसभा बैठकमा सांसद दुर्गा कामी, शान्ति नेपाली, दिव्यश्वरी शाह, सुशीला बुढाथोकीलगायततले आफ्नो भनाइ राखेका थिए ।