आज निर्जला एकादशी, के छ यसको धार्मिक महत्व ?

0

काठमाडौं-वैदिक सनातन धर्मावलम्बीले आज ज्येष्ठ शुक्ल एकादशीका दिन आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्।

आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।

स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।