पुरानो नक्सा छापेर विक्री गरिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

0

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्।केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दि । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं ।’ उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचिकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिए।