कृषि ज्ञान केन्द्रले पहल गर्दै दार्चुलाका किसानको तरकारी बजार ल्याउन

0

ललित सामन्त, दार्चुला-कृषि ज्ञान केन्द्र दार्चुलाले किसानको बारीमा फलेको तरकारी बजार सम्म ल्याउन पहल थालेको छ। निषेधाज्ञाको समयमा किसानको उब्जनी खेर जान नदिन ज्ञान केन्द्रले पहल गरेको हो। किसानले लगाएको तरकारी खेतबारीमा कुहिने अवस्था आए पछि ज्ञान केन्द्रले समन्वय गर्दै बजारमा स्थानीय उत्पादन आउन थालेको कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश कुमार पन्तले बताए। किसानको गुनासोपछि समन्वयकारी भूमिका निभाएको छु।

कृषकलाई समस्या हुन नदिन ढुवानी व्यवस्थापन गरिएको छ। आधुनिकीकरण कृषि परियोजना अन्र्तगत ब्लक सञ्चालक समितिले उत्पादन गरेका तरकारी बजारमा पुग्ने व्यवस्था मिलाइएको जनाएको छ।सडक पहुँच पुगेका ठाउँहरुमा गाडिमार्फत तरकारी बजारमा ल्याउछौँ उनले भने, तर सडको पहँुच नभएका ठाउँहरुमा बिकल्प सोच्नुपर्ने भएको छ। पछिल्लो समय किसानहरुले कांक्रा, लौकी, फर्सी, टमाटर, करेला, घिरैउला, लगायतका तरकारी उत्पादन गरेका छन्।

एक दुई जना कृषकले बजारमा तरकारी ल्याएर बिक्री वितरण गर्न सक्ने अवस्था थिएन, मालिकार्जुनका किसान सोबान बोहराले भने, अहिले कार्यालयले समन्वय गरि दिएपछि सहज भएको छ।जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सकार र गैरसरकारी संघसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ।

कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ। जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शंकरदत्त अवस्थीले बताए।

दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ। जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ। यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ ।जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ। यस्तै जिल्लामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ। दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ।

त्यसबाट ६ हजार २९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ।जिल्लामा ३४० हेक्टर क्षेत्रफलमा बर्खे तरकारी खेती लगाइने गरिएको छ जसबाट वार्षिक चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ।

कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय स्थानीय तह, संघ, प्रदेश र गैरसकारी संघ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन्। जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको समेत कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ।