कञ्चनपुरको दक्षिणी क्षेत्रमा “उखु खेती प्रदर्शनी”,नमूना उखु गाउँ कार्यक्रमबाट ४ सय घरधुरि लाभान्वित

0

कञ्चनपुर-कञ्चनपुरको दक्षिणी क्षेत्रका ४ सय घरधुरीकाे आन्दानीको स्रोत भनेकाे उखु खेती हो। यहाँका किसानहरु बेरोजगार भएर भारत जानुभन्दा जमिन लिजमा लिएर उखु खेतीतर्फ लाग्ने गरेका छन्।

त्यस क्षेत्रका किसानहरुले उखुबाट आम्दानी गरेर छोराछोरीको पठाई देखि घर खर्च जोहो पनि त्यहीबाट गर्ने गरेका छन्।उखु खेतीमा त्यति धेरै मेहनत समेत नलाग्ने भएकाले दक्षिणी क्षेत्रका बासिन्दा उखु खेतीमा आकर्षित भएका हुन्।

प्राय जस्तो किसानले अर्ली उन्नत co-0238 जातकाे उखुकाे बीउ लगाउने गरेका छन्। कञ्चनपुरको दक्षिण क्षेत्रमा दुईवटा चिनी मिल र सयौँ स–साना गुड उद्योग सञ्चालनमा छन्।बेलौरी नगरपालिका १० स्थित शिवनगरमा एउटा चिनी मिल र अर्को पुनर्वासमा चिनी मिल उद्योग सञ्चालनमा रहेका छन्।

त्यहाँका किसानहरुले तीन बर्षका लागि एक चोटी उखु रोप्ने गर्छन्। त्यसपछि प्रत्येक बर्ष काट्छन्। पहिले उखुको मूल्य निर्धारण भएपछि बल्ल किसानहरुले उखु काट्न सुरु गर्ने गरेको चिनी मिलहरूले बताएको छन।

चिनी मिलका अनुसार उखु खेती गरेका प्रत्येक किसानको बेलौरीस्थित बैक अफ काठमाडौं शाखामा खाता खोलि दिएको छ। चिनी मिलले उखुको तौल अनुसारको रुपैयाँ किसानको खातामा जम्मा गरेको छ।

उखु काट्ने बेला त्यहाँका किसानहरुले एक दिन एउटा किसानको उखु काट्ने अर्को दिन अर्को किसानको उखु काट्न मदत (पालोपैचो परम्परा) गर्ने गरेका छन्। उखु काटेपछि चिनी मिलमा किसानहरु कुपन लिन लाईनमा बस्ने गर्छन्।

मील उद्योगबाट किसानको घर घरमा उखुको अवस्था बारे बुझ्न एक जना जेटिए खटाईने गरेकाे छ। जसले किसानलाई रोग लागेको बारेमा सरसल्लाह दिने गर्छ। त्यस क्षेत्रमा दुइ वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रम लागु भएको छ।

यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुनर्वास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ। “छनोट गरिएका पालिकामा एउटा पालिकामा एक सय घरधुरी किसान छनोटमा परेर उक्त कार्यक्रमअन्तर्गत उखुखेती गरिरहेका छन्”, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत तथा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम संयोजक रणबहादुर मल्लले भने, “चारवटा पालिकामा ४ सय किसान प्रत्यक्ष लाभान्वित भएका छन्।”

दक्षिण क्षेत्रमा लामो समयदेखि उखुखेती गर्दै आएको भएपनि उखु नमूना गाउँ कार्यक्रम सञ्चालनमा आएपछि थप उत्साहका साथ किसान त्यसतर्फ अग्रसर भएका छन्। नमूना गाउँअन्तर्गत किसानले यहाँ १५ हजार बिघामा उखुखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।