माता!
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!
किनभने?
मनमनै कल्पना गरेर
भावनाको बस्तुलाई
क्यानभाषमा कोर्दै
आकार र प्रकार दिंदै
सिर्जित सिर्जनाको
मूल्य र प्रतिफलको
कुनै पनि आशा नगरी
नव जीवनको रंग भर्न
अरु कसैले सक्छ र?

माता!
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!
किनभने?
बृक्षको मुख्य शाखा बन्दै
आफूबाटै असंख्य उपशाखालाई
उदाउन दिने,
सरदमा निशब्द
आफ्ना कोमल पात,
फल र सिंगै आवरुको
एक फित्को पर्वाह नगरी
प्रकृतिमै निछावर गरिदिने,
बसन्तमा त पालुवा आउला नि
भनेर दृढ प्रतीक्षा गर्न सक्ने
अरु को हुन सक्छ र?

माता!
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!
किनभने?
भौतिक र शाव्दिक तीर भालाहरु
आफ्नो छातीमा थापेर
रक्ताम्मे शरीरलाई पनि
दुख्दै नदुखेको अभिनय गर्दै
बरु आफ्नो क्यानभाषलाई,
परालको त्यान्द्राले पो कोर्छ कि१
बाछिटाले पो भिजाउछ कि भन्दै
भित्रि आंतमै लुकाएर राख्न
अरु कसैले सक्छ र?

माता१
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!
किनभने?
जति धेरै चित्र कोरे पनि
हरेकको ममता, मूल्य र महत्व
बुझ्न सक्ने,
मुखैमा पुगेको गासलाई पनि
सय भाग लगाउन सक्ने
आश्रितको पेट भरिदिएर
आफू भने दाबिलिएको पेटमै
हजार कोश पाइला चाल्न सक्ने,
आफ्नो शिरको पीडालाई लुकाएर,
दुख्दै नदुखेको अरुको शिरलाई
सुम्सुम्याई दिने
अरु कोही हुन सक्छ र?

माता!
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!
किनभने?
हिमाल, पहाड वा तराई
काली वारी वा पारी,
पानी, पाखा वा चट्टान
फूलबारी वा चारकोशे झाडी,
झुपडी वा महल
सुन्दरता वा अपांगता,
समान दृष्टिले हेर्ने
आत्माबल र निष्ठाको बाटो डोर्याउने,
जाइ नलाग्ने,
आइलाग्नेलाई छोड्न हुन्न भन्ने
हिम्मत घोलिएको रगतलाई
शरीरका नशा नशामा संचारित गराउने,
परिवार, समाज र सिंगो भूगोललाई नै
शान्तिको सन्देश बोकेका
परेवा जोडी खुल्ला आकाशमा उडाउंदै
सदैव ममता र वात्सल्यता छरिरहने
अरु कस्ले गर्न सक्छ र?

त्यसैले
माता!
म तिम्रो अन्धभक्त!
हो आमा!
म तिम्रो अन्धभक्त!

(गुणराज लुइटेल, भर्जिनिया)