१२ दिनदेखि वेपत्ता युवाको शव ओडारमा भेटियो

0

म्याग्दी-मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ। यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।