कस्तो लाचार अवस्थामा पुगियो ? युद्ध मैदानमा अस्त्र बिहिन भए जस्तो !!

0

कुंवेर बहादुर शाही-दिनमा १०० भन्दा बढीको फोन म्यासेज आउँछ। क-कसको फोन आयो ? कसले के कुराको लागि फोन गरेको हो ? भन्ने पनि याद हुँदैन कति खेर त। हिजो अस्ति सम्म मुस्किलले ४/५ जनालाई सहयोग गर्न सकिराखेको अवस्था थियो।

अब त त्यो पनि नसकिने स्थिति भैसक्यो। हस्पिटलमा भएका सबै बेड अनि अक्सिजन बिरामीले भरिईसके। भर्ना भएका हरुको अक्सिजन पनि कति खेर सकिन्छ, थाहा छैन। नयाँ बिरामिलाई सेवा दिन सकिने भनेको, अक्सिजन पाईयो र कोहि सन्चो भएर घर गए भने मात्र हो।

अबत, चिनेजानेका हरुको फोन आउँदा डर पो लाग्न थालेको छ। आफैलाई पनि कस्तो अर्कै लाग्ने, कतिले त यस्तो बेलामा सहयोग गर्न सकेनौ भने कहिले काम लाग्छौ भन्नू भयो। उसो त अक्सिजनको आपूर्तिमा विश्वास गर्न सकिने अवस्था भए हस्पिटलमा अझै बेड विस्तार गर्न सकिन्छ।

थुप्रै समस्याका बाबजुद पनि, आजको दिनमा अक्सिजन नै ठूलो समस्या देखिएको छ। तर, स्थिति झन झन विकराल बन्दै गइरहेको छ। अक्सिजनको आपूर्ति बढ्नुको साटो घट्दै गैइरहेको छ, स्वासप्रस्वास दम अनि निमोनिया जस्ता अक्सिजन चाहिने बिरामी बढ्दै गैईरहेका छन्।

अहिले मेरो अनि मेरो हस्पिटलको टिमको मात्र नभएर प्रायः सबै अस्पतालका संचालक, डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, स्वास्थ्य क्षेत्र संग संबंधित सम्पुर्ण र कोरोना महामारी नियन्त्रणमा सहकार्य गरिराख्नुभएका सम्पुर्ण सहयोगी अनि सरोकारवाला हरुको अवस्था यस्तै हो।

यस्तो स्थितिमा आ-आफ्नो स्थान बाट जे-जति सकिन्छ, गर्ने हो। बाँकी, श्री पशुपतिनाथ संग दुई हात जोडी सम्पुर्णको रक्षा गर्नु प्रभु भन्ने बाहेक विकल्प छैन।

उनी समाजजेवि तथा निसर्ग हस्पिटल धनगढीका सञ्चालक हुन्।